काठमाण्डौ
मंसिर ७
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिननै आफुले एक कार्यकारी आदेश जारी गरि ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता टिपीपी फिर्ता गर्ने बताउनु भएको छ ।
ट्रम्पले आउदो जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि बाराक ओबामाको व्यापार नितिको एक प्रमुख हिस्सा रहेको टिपीपी व्यापार सम्झौता फिर्ता गर्ने घोषणा एक भिडियो मार्फत सार्वजनिक गर्नु भएको वीवीसीले उल्लेख गरेको छ । नवनिर्वाचित ट्रम्पले फिर्ता गर्ने भनेको सो टिपीपी व्यापार सम्झौतामा विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका छन् । सन् २०१५ मा हस्ताक्षर गरिएको सो व्यापारिक सम्झौतामा जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा तथा मेक्सिको सहभागी छन् । तर सम्झौता अनुमोदन भने अहिलेसम्म भइसकेको छैन । गत सोमबार जापानी प्रधानमन्त्री शीन्जो आबेले अमेरिकाविना ट्रान्स प्यासिफिक पार्टनरशीप टिपीपी व्यापार सम्झौता अर्थहीन हुने बताउनु भएको थियो ।
सो सम्झौता पक्षधरहरुले टिपीपीले देशको आर्थिक सम्बन्ध गहिरो बनाइ आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य लिएको बताउदै आएका छनभने सम्झौताका विरोधीहरुले त्यस सम्झौता गोप्य रुपले गरिएको र ठूला कम्पनीहरुलाई मात्र फाइदा हुने खालको भएको बताउने गरेका छन् ।
