काठमाण्डौ
कात्तिक ३०
अमेरिका र रुसबीचको चिसिएको सम्बन्ध सुधारका विषयमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटनबीच टेलिफोन वार्ता भएको छ । ट्रम्पले, चुनाव जितेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो ।
टेलिफोन मार्फत भएको वार्तामा अमेरिकी नवविर्नाचित ट्रम्पले रुससँग बलियो र लामो समयसम्म दुई देशबीचको सम्बन्ध कायम राख्न चाहेको विविसीले उल्लेख गरेको छ । सो कुराकानीमा उहाँहरुले सन् २०१७ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय १० वर्ष पुग्ने भन्दै दुवै देशलाई पारस्परिक लाभ हुने गरि अघि बढ्न उक्त अवसरले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
यसैबीच सम्बन्ध सुधारका लागि समानता र हस्तक्षेपमुक्त सिद्धान्तका आधारमा दुवै देशले काम गर्नेमा दुवै देश विश्वस्त रहेका छन् । उहाँहरुबीच अन्तराष्ट्रिय आतंकवादविरुद्ध लड्नका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको विषयमा समेत छलफल भएको जनाइएको छ । रुसले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि अमेरिकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाए यता दुई देशको सम्बन्धमा चिसोपना देखिएका थियो ।
