काठमाण्डौ
असोज १६
सिरियास्थित अलेप्पो शहरमा अवस्थित सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई आक्रमण भएको छ ।
बीबीसीका अनुसार सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको एउटा स्वास्थ्य सहायता संस्थाले जनाएको छ ।
अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसाईटीले अस्पतालमाथि ब्यारल बम प्रहार गरिएको बताएको छ । अस्पतालमाथि चार दिनअघि पनि त्यस्तै किसिमको आक्रमण भएको थियो । बुधबार एम १० अस्पतालमाथि आक्रमण भएपछि त्यहाँ सेवा दिन बन्द गरिएको बताइएको थियो । तर आक्रमण हुँदा भवनभित्रै रहेका केही बिरामी र कर्मचारीहरु त्यहीं भित्र फसेको अस्पतालका कर्मचारीले बताएका छन् । हिजो अस्पतालका प्रशासकले भवनभित्रबाट तुरुन्तै सहयोगका लागि अपील गरेको एएफपी समाचार संस्थालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
