काठमाण्डौ
असोज १५
संयुक्त राष्ट्र संघले नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको भारतको दाबीमाथी प्रश्न उठाएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव बानकी मूनका प्रवक्ता स्टेफेन दुजारिकले संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तान नियन्त्रण रेखामा सिधा तरिकाको गोलाबारी नदेखेको बताउनुभएको छ । युद्ध विरामको कथित उल्लंघनबारे प्रेक्षक दलले सम्बन्धित अधिकारीहरुसंग छलफल गरिरहेको उहाँले जानकारी समेत दिनुभयो । संयुक्त राष्ट्र संघको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तानबीच रहेको नियन्त्रण रेखामा सन् १९७१ मा लागु भएको युद्ध विरामको निगरानी गर्ने गर्दछ । भारतले आफ्नो फौजले जम्मू काश्मिर क्षेत्रमा नियन्त्रण रेखामा चरमपन्थी अड्डा नष्ट गर्नका लागि सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो । पाकिस्तानले सो दाबीलाई झुठो बताउँदै विगतमा हुनेका गरेका सामान्य झडप जस्तै झडप भएको बताएको थियो ।
