काठमाण्डौ
असोज १५
दसैँका लागि काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू भएको छ ।
हिजोबाट लागु भएको विशेष सुरक्षा योजनाअन्तर्गत आज उपत्यकाका विभिन्न नाकामा चेकजाँच कडा पारिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजबाट मोटरसाइकल र साइकल गस्तीलाई पनि प्रभावकारी रुपले अघि बढाइएको छ । दसैँ, तिहार र छठ पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्नका लागि विशेष सुरक्षा योजना लागु गरिएको हो । टेकुस्थित प्रहरी परिसर कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार सर्वसाधरणको शान्तिसुरक्षाका लागि तीनवटा तालिमप्राप्त कुकुरसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । दसैँदेखि छठसम्म चोरी, डकैती, जुवातास, गुन्डागर्दी, सिक्रीलगायत गरगहना लुटपाट, पकेटमारीजस्ता सम्भावित अपराधका घट्ना रोक्नका लागि प्रहरी सक्रिय भएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार कालोबजारी, यातायातको भाडामा ठगी, क्षमताभन्दा बढी यात्रु ओसारपसार, खाद्यमा मिसावटजस्ता कुराको पनि कडा निगरानी गरिनेछ । पटका तथा भुईचम्पाजस्ता प्रज्वलनशील वस्तुको अवैध प्रयोग र असोरपसारमा समेत कडाई गरिने उहाँले बताउनुभयो । देश विदेशबाट घर फर्कने र उपत्यकाबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको, असामाजिक, अप्रिय र अपराधिक घटना घट्न नदिने दाबी प्रहरीले गरेको छ ।
