पत्रकारमाथिको हातपातप्रति सञ्चार सम्बद्ध संस्थाको विरोध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ जेठ १८ शुक्रवार २०:३० बजे

पत्रकारमाथिको हातपातप्रति सञ्चार सम्बद्ध संस्थाको विरोध

काठमाण्डौंको न्यूरोडमा बिस्तार गर्न लागिएको फुटपाथको समाचार संकलनमा पुगेका हरेकन्युज डटकमका सम्पादक सहित अन्य पत्रकारमाथि भएको हातपातको घट्नामा सञ्चार सम्बद्ध संस्थाहरुले खेद प्रकट गरेका छन् । गत बुधबार स्थानीयले पत्रकारमाथि एकपक्षीय समाचार लेखेको आरोप लगाउदै हातपात गरेपछि यसको विरोध भएको हो ।

घट्नामा हरेकन्युजका कृष्ण कट्टेल र नवराज पहाडी,पाथिभरा च्यानलका सुदिप भण्डारी र राईटसञ्चारका पुस्कर भण्डारीमाथि हातपात र गालीगलौज भएको थियो । घट्नाको बिरोध गर्दै नेपाल पत्रकार महासंघ,प्रतिष्ठान प्रदेश समितिले विज्ञप्ती जारी गरेको छ । ‘उहाँहरुलाई रिपोर्टिङ गर्न नदिई सो क्षेत्रबाट निकालिएकोमा प्रदेश समिति भोर भत्सर्ना गर्दछ’ सचिव नरेन्द्र मानन्धरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सोहि घट्नाको श्रमजीवि पत्रकार संघ,नेपालले समेत विज्ञप्ती जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । प्रशारित समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न पाउने अधिकार हुँदाहुँदै केहि व्यक्तिले हातपात र गालीगलौजमा उत्रिनु निन्दनीय भएको अध्यक्ष जन्मदेव जैसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

घट्नामा संलग्नले आफूहरुबाट गलत भएको स्विकारेका छन् । हातपात र गालीगलौज भएपछि प्रहरीमा जाहेरी दिन पुगेका पत्रकारलाई काठमाण्डौं महानगरपालिका २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनको समन्वयमा घट्ना घटाउने व्यक्तिले आफूहरुबाट भएको कमीकमजोरीलाई महसुस गरेका छन् । सो क्रममा वडा अध्यक्ष महर्जनले छलफल र सहमतीबिना काठमाण्डौं महानगरपालिका पेलेर काम गर्न आएकाले तीन दिनदेखि नसुती स्थानीयले सडक खन्न नदिएको बताए । ‘वास्तवमै न्यूरोडको २२ नम्बर वडाबासी पीडामा छौँ । महानगरपालिका जुनसुकै बेला आएर डोजर चलाउनसक्ने भएकाले स्थानीय चनाखो छन्,हैरान भएका छन् । भिडभाडमा त्यस्तो हुन गएकाले अन्यथा नलिनुहोला’ अध्यक्ष महर्जनले भने । न्यूरोडमा बिस्तार गर्न लागिएको फुटपाथको बिषयमा बिहिबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकमा उनै वडा अध्यक्ष महर्जनले प्रमुख बालेन्द्र शाहसँग केहिबेर सवाल जवाफ गरेका थिए । स्थानीयको असहमतिपछि हाल महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ बिस्तारको काम तत्काललाई रोकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार