कान्ती बाल अस्पतालमा शल्यक्रियाका लागि २ बर्षसम्म कुर्नुपर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ जेठ १४ सोमवार १०:३२ बजे

कान्ती बाल अस्पतालमा शल्यक्रियाका लागि २ बर्षसम्म कुर्नुपर्ने

सरकारी अस्पतालमा शल्यक्रिया गर्न २ बर्षसम्म पालो कुर्नुपर्ने रहस्य पत्ता लागेको छ । बिरामीले चाहेको समयमा शल्यक्रिया पाउनु निकै कठिन रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

परीक्षकको कार्यालयले आफ्नो ६१ औं वार्षिक प्रतिवेदनमा पनि सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुनुपर्ने अवस्था रहेको उल्लेख गरेको हो । बिरामीको चाप उच्च रहेको मुलुकको प्रमुख अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि १ हप्तादेखि रोगको प्रकृति बमोजिम १ वर्षसम्म उपचारका लागि कुर्नुपर्ने अवस्था छ ।

यस्तै देशको एक मात्र कान्ति बाल अस्पतालमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ महालेखाको प्रतिवेदनमा छ ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि रोगको प्रकृतिअनुसार ४ देखि १२ हप्तासम्म, हेमोडायलाइसिसका लागि ४(५ महिना, इन्डोस्कोपीका लागि एक हप्तासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा आंैंल्याइएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न ४५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने, क्यान्सर रोगका लागि अति आवश्यक पेट स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिका रोगको उपचार पाउन नसकेको उल्लेख छ ।

यसैगरी, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिसका लागि करिब ७०० बिरामी प्रतीक्षारत रहेको र बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको प्रतिवेदनमा छ । अस्पतालहरुले बिरामीलाई सर्वसुलभ तथा छिटो सेवा प्रदान दिन महालेखाले औंल्याएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार