सरकारले आगामी आईतबारबाट मेलम्चीको पानी काठमाण्डौंका उपभोक्तालाई वितरण गर्ने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सञ्चालन सम्बन्धी सम्पूर्ण निकायका प्रमुखलाई पानी वितरणको तयारी गर्न निर्देशन दिएका छन् ।
हाल मेलम्ची खोलाबाट पानी काठमाण्डौं आईसकेको छ । सुन्दरीजलस्थित सुरुङको गेट बन्द गरेर सुरुङ भर्ने काम जारी छ । केहि मात्रामा पानी बागमती नदिमा छोडिएको छ । सुरुङ भरेर प्रशोधन केन्द्रमा पानी राखिनेछ । ‘हामीले चैत मसान्तभित्रै मेलम्ची खोलाबाट पानी पथान्तरण गर्यौँ । तर उपभोक्ताको धारामा पानी नपुगी अहिलेसम्म गरेका सबै कामको अर्थ छैन । यसकारण जतिसक्दो छिटो र भरपर्दो रुपमा उपभोक्तालाई पानी वितरण गर्दैछौँ’ खानेपानी मन्त्री चौधरीले भने । मन्त्री चौधरीले मेलम्ची खानेपानी विकास बोर्ड,काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड,आयोजना कार्यान्वयन निर्देशनालाय,भ्याली बोर्ड लगायत खानेपानी सम्बद्ध विभिन्न निकायका प्रमुखसँग छलफल गर्दै समय तालिका भित्र पानी सञ्चालन गर्न निर्देशन दिए ।
गतबर्ष ३ महिना मेलम्चीको पानी काठमाण्डौंका उपभोक्ताले पानी प्राप्त गरे । तर बाढीका कारण आयोजनाको अम्बाथानस्थित हेडवक्स क्षेत्र आसपास क्षति पुगेपछि आयोजना प्रभावित भएको थियो । प्रभावित आयोजनालाई सरकारले पूनः अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ ।
आफू मातहतका निकायका प्रमुखलाई निर्देशन दिदै खानेपानीमन्त्री उमाकान्त चौधरी । भिडियोसहित
