कृष्णभिरको पहिरो रोक्ने नायक,जसले नागढुंगा सुरुङ बनाउदैछन् (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत १३ आइतवार ०८:०६ बजे

कृष्णभिरको पहिरो रोक्ने नायक,जसले नागढुंगा सुरुङ बनाउदैछन् (भिडियो सहित)

स्थानीयले चर्को मुआब्जा रकम मागेपछि निर्माणाधिन नागढुंगा सुरुङमार्गको धादिङतर्फ खत्रिपौवाको पहिरो स्थायी नियन्त्रणमा कठिनाई उत्पन्न भएको छ । १८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ ।

रकमको सुनिश्चितता नभईसकेकाले पहिरो नियन्त्रणको डिजाईन आईसकेपनि काम अघि बढ्न सकेको छैन । गत बर्षायाममा गएको पहिरोले केहि घण्टा त्रिभुवन राजमार्ग अन्र्तगत नागढुंगा नौबिसे खण्डमा केहि घण्टा यातायात अवरुद्ध भएको थियो । डिजाईनअनुसार अझै काम गर्नसके आगामी बर्षायाम सुरु हुनुअघि नै पहिरो व्यवस्थापन गर्न सकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । पहिरो रोक्न बनाईने स्थायी संरचनाको जग्गा अधिग्रहण गरेर लिनुपर्ने स्थिति देखिएपनि बाँकी जग्गा पहिरो रोकथामपछि झन् मजबुत हुने भएकाले अधिग्रहण गर्नुपर्ने अवस्था नभएको उनले बताए । ‘धेरै पैसा डिमाण्ड गर्नुभएको छ । ५० डिग्री स्लोभको भिरमा पनि अस्वभाविक रेटको डिमाण्ड छ । त्यो पैसा खोज्दाखोज्दै हामीलाई अझै एक डेढ बर्ष लाग्छ । प्रोजेक्ट डिले हुन्छ’आयोजना प्रमुख शाक्यले भने,‘दुई बर्षसम्म किसानले खेती गर्न पाउदैन भने त्यसको पैसा दिने र कति अधिग्रहण गरिन्छ त्यसको पैसा दिएर बाँकी जग्गा पुर्नस्थापना गरेर दिने भन्ने हाम्रो प्रस्ताव थियो । उहाँहरुले अधिग्रहण गरेर जग्गा लिएमात्र काम गर्न दिने भन्ने उहाँहरुको भनाई छ ।’

धादिङको प्रमु्ख जिल्ला अधिकारी र धुनीबेसी नगरपालिकाको मेयरको पहलमा केहि समाधान निकाल्ने प्रयास भईरहेको आयोजना प्रमुख शाक्यले बताए । स्थानीयले काम गर्न नदिए आगामी बर्षामा झन् पहिरो थपिन सक्ने प्राविधिकहरुको बुझाई छ । काम गर्न सहज वातावरण भए बर्षाअघि नै स्थायीरुपमा त्यस क्षेत्रको पहिरो व्यवस्थापन गर्न सकिन्छ ।

कृष्णभिरको पहिरो रोक्ने नायक लाई खत्रिपौवाले सताएकै हो ?

बिक्रम संवत २०५७ साल साउन २७ गते पृथ्वीराजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरो अझैपनि आम मानिसले सम्झिन्छन् । उक्त पहिरोले काठमाण्डौं प्रवेशको मुख्य मार्ग ११ दिनसम्म बन्द भएको थियो । सोहि पहिरो रोकथाम गरेर वाहवाही कमाएका ईञ्जिनियर हुन् नरेशमान शाक्य । जो अहिले नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख ईञ्जिनियर हुन् ।

कृष्णभिरको पहिरो नियन्त्रणका लागि त्यसबेला अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएपनि खर्च बढि लाग्ने देखिएपछि सडक विभागकै इन्जिनियर नरेशमान शाक्यले पहिरो नियन्त्रणको जिम्मा पाए । पानीको व्यवस्थापन गर्दै विभिन्न ठाउँमा पर्खाल लगाउँदै,बग्ने माटोलाई नियन्त्रणमा लिन बाबियो, अम्रिसो, बाँस, बकाइनो, खयर जस्ता बोटबिरुवा रोपेर त्यति ठूलो पहिरो नियन्त्रण गरेको क्षण स्वयम् ईञ्जिनियर शाक्यको मानसपटलमा ताजै छ । हाल धेरैको ध्यान खिचेको नेपालकै सडक पूर्वाधारको पहिलो सुरुङमार्ग नागढुंगा सुरुङको सिस्नेखोलातर्फ खत्रिपौवाको पहिरोले फेरि बर्षामा सताउला कि भन्ने त्रास कायम छ । तर उहि कृष्णभिरको पहिरो नियन्त्रण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको ध्यान तानेका ईञ्जिनियर एवं नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्य भन्छन्,‘हामी तीन महिनाभित्र पहिरो नियन्त्रण गर्न सक्छौँ । डिजाईनअनुसार हामीले त्यहाँ ईम्प्लिमेण्ट गर्न पाउनुपर्यो ।’समयमै काम गर्न नपाए आगामी बर्षामा माथी रहेका केहि गह्रा बग्नसक्ने सम्भावना रहेको उनले बताए ।

खत्रिपौवाको पहिरो तथा नागढुंगा सुरुङबारे आयोजना प्रमुख शाक्यसँग गरिएको कुराकानी भिडियोमा


प्रतिक्रिया

सम्बन्धित समाचार