मेलम्ची खानेपानी अब छिट्टै काठमाण्डौंको धारामा यसरी आईपुग्दैछ (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत १० बिहीवार ०९:१८ बजे

मेलम्ची खानेपानी अब छिट्टै काठमाण्डौंको धारामा यसरी आईपुग्दैछ (भिडियो सहित)

मेलम्ची खानेपानी आयोजनाको खानेपानी यहि चैतभित्र काठमाण्डौं ल्याउन सरकारले अन्तिम तयारी गरिरहेको छ । बाढीले प्रभावित आयोजनाको ‘हेडवक्र्स’ निर्माणस्थल आसपास मर्मत गरेर पानी ल्याउन लागिएको हो ।

गतबर्षको चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारा खोलेर आयोजनाको खानेपानी उद्घाटन गरेकी थिइन् । लगत्तै ३ महिना उपभोक्तालाई खोनपानी वितरण गरेपछि असार १ गतेको बाढीले आयोजनाको ‘हेडवक्र्स’ निर्माणस्थल र आसपासमा नराम्ररी प्रभावित भएको हो । आयोजनामा यसअघि नै काम गरिरहेको चिनिया ठेकेदार कम्पनी ‘सिनो हाईड्रो’ लाई जिम्मा दिएर यहि चैतभित्र खानेपानी काठमाण्डौं ल्याउनेगरी सरकारले काम अघि बढाएको छ । हरेकन्युजसँग कुराकानी गर्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले पानी काठमाण्डौं झर्ने दिन तोक्न नसकेपनि चैतभित्रै झारिने बताए । ‘चैतभित्रै मेलम्चीको खानेपानी काठमाण्डौं ल्याउछौँ । एडिबीको टोलीले बाढी प्रभावित क्षेत्रको अध्ययन गरेर प्रतिवेदन बुझाउदैछ । त्यसपछि थप कसरी आयोजनाको काम अघि बढाउने भनेर निर्धारण हुनेछ’ मन्त्री चौधरीले भने ।

मेलम्ची खानेपानीको मुहान क्षेत्र मर्मत कार्य अन्तिम चरणमा पुगेको र बाढीले थुपारेको गेग्रान पन्छाएर अस्थायी रुपमा पानी काठमाण्डौं ल्याउन लागिएको आयोजनाका सुन्दरीजल साईट ईञ्जिनियर बर्मलाल राजभण्डारीले बताए । ‘मेलम्ची खानेपानी आयोजनाको ट्रिटमेन्ट प्लाण्ट तयारी हालतमा छ । पानी सुन्दरीजल झरिसकेपछि प्रशोधन गरेर काठमाण्डौं पथान्तरण गर्न हामी तयार छौँ’ उनले भने ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी लामो सुरुङमा पठाएर सुन्दरीजलमा झार्न लागिएको हो । अहिले मेलम्ची खोलाको पानीलाई अस्थायी बाँध बनाएर सुरुङमा पसाउन लागिएको हो ।

 

यसरी सम्भव भयो मेलम्ची आयोजना
तत्कालिन् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ३२ बर्षअघि नै यस आयोजनाको परिकल्पना गरेका थिए । उनले मेलम्चीको पानी काठमाण्डौंबासीलाई खुवाउने घोषणा गरेका थिए ।

बिक्रम संवत् २०६५ सालमा सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता भएको थियो भने २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम शुभारम्भ गरिएको हो । २०६९ सालमा ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द भयो । ०७० मा बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीलाई ठेक्का दिइयो । ०७५ सालमा २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्था फेरि विभिन्न विवाद भएपछि सीएमसीसँगको ठेक्का रद्द गरियो । ०७६ मा सुरुङ र हेडवक्र्सका बाँकी काम गर्न सिनो हाइड्रोसँग ठेक्का सम्झौता भयो । त्यसपछि ०७७ असार २१ मा सुरुङको पहिलो परीक्षण गरियो तर ३१ गते दुर्घटना भएपछि आयोजना फेरि स्थगित भयो । ०७७ कै फागुन १० गते सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु गरिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार