डेढ अर्ब लगानीमा निर्माण भएको काठमाण्डौंको चोभारस्थित सुख्खा बन्दरगाह एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भईसकेकाले प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारी गरिएको छ ।
बन्दरगाहको सञ्चालकको रुपमा नेपाल ईन्टरमोडल यातायात विकास समिति रहने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘सञ्चालकको रुपमा हामी रहन्छौँ । यसको मुख्य सरोकारवाला निकाय भनेको भन्सार हो । भन्सार चेकजाँच पास गर्नै बनाईएको संरचना हो । सुरक्षानिकाय,क्वारेन्टिन सबै तयारी पुरा भएको छ’ उनले भने । भारत लगायतका बाह्य मुलुकबाट आउने सामान सिमाक्षेत्रको बन्दरगाहबाट आईरहेको छ । बिरगंज,बिराटनगर लगायतको भन्सारमा नबसी सिधै काठमाण्डौं आउन सकिने र यहाँबाट जाँचपास गर्न सकिने गजुरेलले बताए । विशेषगरी यस बन्दरगाहमा कन्टेनर आउने अपेक्षा गरिएको उनले बताए ।
जिपिएस प्रणालीबाट ट्रयापिङ गरेर सिमाक्षेत्रबाट चोभार बन्दरगाहसम्म सामान ल्याउने भन्सारको योजना देखिन्छ । विशेषगरी फराकिलो सडक अभावले सिमाक्षेत्र हुदै हाल थानकोटबाट आउने मालबाहक सवारीसाधन चोभार पुगेर जाँचपास गराउने र फर्किने सम्भावना न्यून छ । काठमाण्डौं तराई द्रुतमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि भने यस बन्दरगाहको महत्व बढ्ने गजुरेलले बताए ।
गत १० फागुनमा सरकारले बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो । बन्दरगाहको कुल क्षेत्रफल २ सय ६० रोपनी छ । विश्व बैंकको डेढ अर्ब ऋण लगानीमा गत साउनमा बन्दरगाह निर्माण सम्पन्न भएको हो ।
चोभारको सुख्खा बन्दरगाह सञ्चालनको यस्तो छ तयारी । भिडियोमा हेर्नुहोस् ।
