बञ्चरेडाँडोले अब काठमाण्डौंको फोहोर सय बर्ष बोक्छ (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत ५ शनिवार ०८:०७ बजे

बञ्चरेडाँडोले अब काठमाण्डौंको फोहोर सय बर्ष बोक्छ (भिडियो सहित)

सरकारले नुवाकोट र धादिङको सिमाक्षेत्र बञ्चरेडाँडामा काठमाण्डौंको फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्याण्डफिल्ड साईट निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । सय बर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने गरी तयार गर्न लागिएको साईट सञ्चालनमा सहजीकरण गर्न एक उच्चस्तरीय समिति गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

विगत १७ बर्षदेखि नुवाकोटको सिसडोलमा काठमाण्डौंको फोहोर व्यवस्थापन गर्ने गरिएको छ । फिल्डमा गएर हेर्दा फोहोर व्यवस्थापन भन्दापनि यत्रतत्र छरिएको,दुर्गन्ध फैलिएको,ल्याण्डफिल्ड साईट भरिएको,स्थानीयको स्वास्थ्य प्रतिकुल हुने वातावरण सिर्जना भएको पाईन्छ । विगतमा सरकारले गरेका प्रतिवद्धता पुरा नभएको भन्दै स्थानीयवासी पटक पटक आन्दोलित हुने गरेका छन् । सिसडोलको भद्रगोल स्थिति देख्दादेख्दै स्थानीयवासी सिसडोलकै छेवैमा बन्दै गरेको बञ्चरेडाँडो ल्याण्डफिल्ड साईटमा यथास्थितिमा फोहोर फाल्न दिने पक्षमा छैनन् । यसकारण उनीहरु पछिल्लो समय ११ दिनसम्म आन्दोलित भए । जसका कारण काठमाण्डौंको फोहोर उठ्न सकेन । तर पछिल्लो समय मन्त्रिपरिषदले गरेको निर्णयलाई स्वागत गर्दै सरकारी पक्षसँग थप वार्तापछि स्थानीयवासी फोहोर उठ्न दिन तयार भएका छन् ।

बन्दै गरेको बञ्चरेडाँडो स्यानिटरी ल्याण्डफिल्ड साईट आधुनिक मात्र नभई सताब्दीसम्म फोहोर व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको फिल्डमा खटिएका ईञ्जिनियर सुदर्शनसिंह सिजापती बताउछन् । ‘फोहोर राख्न सेल वान र सेल टु बनेको छ । ड्याम बनाईएको छ । फोहोरलाई कुहाउने विधि पनि छ’ उनले भने ।

कस्तो बन्दैछ समिती ?
बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साईट सञ्चालन गर्न सरकारले सहरी विकास मन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । समितिले साईट सञ्चालन गर्न स्थानीय समस्या समाधान गर्न यसअघि भएको प्रतिवद्धता कार्यान्वयन,सञ्चालनमा समन्वय,सहजिकरण र अनुगमन गर्ने उल्लेख छ । समितिमा काठमाण्डौं र ललितपुर महानगरपालिकाका मेयर देखि सम्बन्धित मन्त्रालयका सचिव तथा धादिङ धुनवेसी नगरपालिकाको मेयरदेखि नुवाकोट ककनी गाउँपालिकाका अध्यक्षसम्म सदस्य रहेका छन् ।

ल्याण्डफिल्ड साईटको वातावरणीय प्रभाव मूल्यांकन गरी मानव जीवन,पशुपंक्षी,जीवजन्तु, बनस्पतिमा पर्ने प्रभावको विश्लेषण सहितको प्रतिवेदन शहरी विकास मन्त्रालयले तयार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । प्रत्यक्ष प्रभावित क्षेत्रको यकिन गरी जग्गा प्राप्ती गर्ने,आवश्यक सडक निर्माण अघि बढाउने,तीनपिप्ले–कुमारी–गल्छी सडकको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्ने,फोहोरको दीर्घकालीन् रुपमा वैज्ञानिक व्यवस्थापन गर्ने लगायतको सरकारले निर्णय गरेको छ ।

निर्माणको अन्तिम चरणमा रहेको बञ्चरेडाँडो ल्याण्डफिल्ड साईट भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया

सम्बन्धित समाचार