मेलम्ची खानेपानी आयोजनाको विभिन्न संरचनामा थुप्रिएको गेग्रान हटाएर चैतभित्रै पानी काठमाण्डौंमा ल्याईने आयोजनामा खटिएका प्राविधिकहरुले बताएका छन् । आवश्यक मेसिनदेखि जनशक्ति चौबिसैघण्टा खटिरहेकाले सरकारको लक्ष्यअनुसार काम सम्पन्न हुने उनीहरु बताउछन् ।
गत असार १ गतेको बाढीले गर्दा आयोजनामो हेडवक्र्स बन्दै गरेको अम्बाथान क्षेत्रका अडिट टनेलदेखि अन्य संरचनामा गेग्रान पसेपछि आयोजना प्रभावित बनेको थियो । बाढीले आयोजनाका संरचनालाई पुरिदिएपछि गतबर्ष नै ३ महिना खानेपानी काठमाण्डौंमा सञ्चालन भएपनि त्यसयता आयोजना प्रभावित छ । हाल भने अम्बाथान क्षेत्रमा चिनियाँ कम्पनी सिनो हाईड्रोले अस्थायीरुपमा भएपनि काठमाण्डौंमा पानी ल्याउन काम गरिरहेको छ ।
बाढीले पुरेका आयोजनाका संरचना निकालिसकिएको र अडिट टनेललाई पूर्णरुपमा सफा गरेर मुख्य टनेलमा जम्मा भएको बाँकी पानीलाई खाली गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल ईञ्जिनियर पदम बहादुर कुँवरले बताए । ‘चैतभित्रै पानी पठाउने हाम्रो प्रयास जारी छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भईसकेको छ’उनले भने ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले समेत आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाण्डौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउदै आएका छन् । अस्थायीरुपमा भएपनि चैतभित्रै पानी काठमाण्डौ ल्याउने सरकारको लक्ष्य छ । गत चैतदेखि १ असारसम्म सरकारले मेलम्चीको पानी काठमाण्डौं ल्याएर वितरण गरेको थियो । तर पानी बन्द गरेकै दिन मेलम्ची खोलामा आएको भिषण बाढीले आयोजनास्थललाई समेत नराम्ररी प्रभावित गरेको थियो ।
चैतभित्र पानी काठमाण्डौं ल्याउनेगरी आयोजनास्थलमा यसरी काम हुदैछ, भिडियोमा हेर्नुहोस् ।
