मेलम्चीको पानी अस्थायीरुपमा काठमाण्डौं ल्याउने कामले तीव्रता पाएको छ । सिन्धुपाल्चोकको अम्बाथानस्थित हेडवक्स देखि ग्याल्थुमसम्म झण्डै ५ किलोमिटर सुरुङमा बाँकी भएको पानी खाली गर्न अडिट टनेल सफा गर्ने काम धमाधम भईरहेको छ ।
गत असार १ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट टनेलमा झण्डै २ सय २० मिटर लेदो थुप्रिएको पाईएको छ । थुप्रिएको लेदो माटोसहितको गेग्रान सफा गर्ने काम अन्तिम चरणमा पुगेको छ । अडिट टनेल खाली गरेर अम्बाथानदेखि ग्याल्थुमसम्मको टनेलमा जम्मा भएको पानी खाली गरिने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल ईञ्जिनियर पदम बहादुर कुँवरले बताए । ‘अम्बाथान अडिटमा २ सय २० मिटरजति गेग्रान पसेको अवस्था छ ।
हामीले झण्डै बीस तीस मिटरजति मात्रै गयो होला भनेर सोचेका थियौँ । तर सोचेको भन्दा धेरै गेग्रान पसेको रहेछ’ ईञ्जिनियर कुँवरले बताए । अम्बाथानको अडिट टनेल सफा गरिसकेपछि त्यहाँका गेटहरु खोलेर डिवाटरिङ गरिने उनले बताए । उनका अनुसार आयोजनाको एक नम्बर गेटमा भने सोचेको भन्दा थोरै गेग्रान थुप्रिएको पाईएको छ ।
सरकारले चैत मसान्तसम्म अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाण्डौं ल्याउने लक्ष्य लिएको छ । जसअनुसार ६० प्रतिशत काम सम्पन्न भएको ईञ्जिनियर कुँवरले बताए । काम तीव्ररुपमा अघि बढेकाले सरकारको लक्ष्यअनुसार पानी काठमाण्डौं लैजान सकिने उनले बताए ।
चिनियाँ कम्पनी सिनो हाईड्रोले आयोजनाको हेडवक्र्सको काम अघि बढाएको थियो । तर बाढीले गर्दा हेडवक्र्स निर्माणस्थल नै पुरिएको थियो । हाल अस्थायीरुपमा मेलम्चीको पानी काठमाण्डौं ल्याउने जिम्मा पनि सोहि कम्पनीले पाएको छ । निर्माणस्थलमा भएका ठूला ढुंगा हटाउनलाई ब्लास्टिङ समेत हुदै आएको छ ।
आयोजनाको अम्बाथान अडिटभित्रको गेग्रान यसरी निकालिदैछ हेर्नुहोस् भिडियोमा ।
