काठमाण्डौं आवतजावतमा सहज बनाउन निर्माणाधिन नागढुंगा सुरुङमार्ग अन्तर्गतको आकस्मिक निकासको सुरुङ आगामी बैशाखसम्म वारपार छेडिने गरी काम अघि बढेको छ । समानान्तर रुपमा निर्माणाधिन मुख्य सुरुङमार्ग भने भदौसम्म ब्रेक थ्रु हुनेगरी आयोजनाले काम अघि बढाएको छ ।
नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘फ्लाईओभर’ सहितको निर्माणाधिन आयोजनाको भौतिक प्रगति २७ प्रतिशत सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए । ‘गत महिना २.६ प्रतिशत भौतिक प्रगति हासिल गर्यौँ । त्यो भनेको राम्रो गति लिएको संकेत हो । अहिले कंक्रिट लाईनिङ सुरु भएपछि हाम्रो स्पिड झन् बढ्छ’ शाक्यले भने ।
मुआब्जा रकम भने अझै अपुग
नागढुंगा सुरुङमार्ग अन्तर्गत अघिग्रहण गरिएको घर,टहरा तथा जग्गावापत प्रभावित स्थानीयलाई दिन एक अर्ब १४ करोड रुपैया रकम आवश्यक देखिएको छ । जसमध्ये यस आर्थिक बर्षमा बजेट बिनियोजन भने डेढ करोड मात्र भएको छ । पहिलो चरणमा सडक विभागमा भएको स्रोतबाट रकमान्तर गरेर थप ३० करोड पाएको निर्देशक शाक्यले बताए । ‘मुआब्जाको प्रकृया हामीले सुरु गरिसकेका छौँ । दाखिला खारेज गरेर अहिले लालपुर्जा बनाउने काम भईरहेको छ’ उनले भने । आयोजनाले फ्लाईओभरको जग पर्ने क्षेत्रका घरटहरा तथा जग्गावालालाई पहिलो प्राथमिकतामा राखेर रकम वितरण गर्न लागेको छ । थप पैसा पनि माग फारम पठाईएको शाक्यले बताए । आयोजनालाई अझै ८३ करोड रुपैया मुआब्जाका लागि रकम आवश्यक देखिन्छ । सम्बन्धित निकायले यस विषयमा चासो देखाएकाले मुआब्जा रकम प्राप्त हुने निर्देशक शाक्यको विस्वास छ ।
स्थानीयबाट पछिल्लो समय पहिलेको तुलनामा गुनासो आउन छोडेका छन् । धादिङका पाँचवटा घरधनीले मुआब्जा रकम बुझेपनि घर भत्काएका छैनन् । सो क्षेत्रको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेकाले घर अझै नभत्किएको हो । काठमाण्डौंतर्फ पाँचवटा घरले मुआब्जा रकम लिएपनि भत्काउन मानेका थिएनन् । अहिले भने भत्काउन थालेका र एउटा घरमात्र भत्किन बाँकी रहेको उनले बताए ।
४२ महिना निर्माण अवधि तोकिएको यस आयोजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको हो ।
