सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन संघीय संसदको भवनको भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ । ५ अर्ब २ करोड लगानीमा सरकारले संसदको आफ्नै भवन बनाउन लागेको हो ।
हाल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संघीय संसद सञ्चालित छ । विगतमा संविधानसभा निर्वाचनअघि सम्मको प्रतिनिधिसभा सिंहदरबार भित्रैको ग्यालरी बैठकबाट सञ्चालन हुन्थ्यो । संविधानसभाको निर्वाचनपछि सांसद संख्या ६ सय १ पुगेदेखि भाडामा संसद चलिरहेको थियो । बार्षिक करोडौं भाडा तिरेर संसद चलाउनुपर्ने बाध्यताबाट मुक्त हुन सरकारले संसदको आफ्नै भवन बनाउन लागेको हो ।
निर्माण कम्पनी टुण्डी सेक जेभीले संसद भवन बनाईरहेको छ । ०७६ को असोजदेखि ३ बर्षभित्र काम सम्पन्न गर्नेगरी यो कम्पनीले ठेक्का पाएको हो । तर कोरोनाभाईरसको संक्रमण,लकडाउन लगायतका कारण आयोजना केहि प्रभावित भएको यस आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर ईञ्जिनियर राजेश महर्जनले बताए । ‘फाईनान्सियल प्रोगे्रेस चाहिँ ३८ प्रतिशत पुगिसकेको छ । भौतिक प्रगति भने ४५ प्रतिशत भन्दा माथि गईसकेको छ’ महर्जनले भने ।
निर्माण कम्पनीले पाएको निर्धारित समयभित्र काम नसकिने देखिएको छ । यद्यपी लकडाउनका कारण सरकारले चालु आयोजनाहरुको समयसिमा ६ महिना थपेकाले थप भएको समयभित्र सक्नेगरी निर्माण कम्पनीले काम अघि बढाएको उनले बताए । संसदको नयाँ भवन परिसरमा १२ वटा ब्लक बन्दैछन् ।
कस्ता ब्लक बन्दैछन् त ? भिडियोमा हेर्नुहोस् ।
