सरकारले एक अर्ब लगानीमा निर्माण थालेको नयाँ मन्त्रीक्वार्टरको ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । ललितपुरको सैंबु भैसेपाटीमा २ बर्षभित्र सक्नेगरी निर्माण जिम्मा दिएपनि निर्धारित समयमा काम पुरा हुन नसकेको हो ।
०७६ को असोजदेखि निर्माणको जिम्मा पाएको श्रीको हनुमान जेभीले आगामी बैशाखसम्म काम सक्ने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण प्रभावित आयोजनाहरुको समयसिमा ६ महिना थपिने सरकारको यसअघिको निर्णय बमोजिम यस आयोजना सम्पन्न गर्ने समय अरु ६ महिना धकेलिएको हो । १ सय ४९ रोपनी क्षेत्रफलमा २७ वटा भवन बनाइएको छ । जसमध्ये राष्ट्रियसभा अध्यक्ष,उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुखलाई समेत आवास छुट्याइएको छ । बाँकी भवन भने मन्त्रीहरुको लागि हुनेछन् । संघीय सरकारमा बढिमा २५ जनासम्म मन्त्री हुने संवैधानिक व्यवस्था छ । सोहि अनुरुप भवन संख्या निर्धारण गरिएको हो ।
‘हालसम्म ६५ प्रतिशत काम सकिएको छ । फस्र्ट फेज अन्र्तगत २७ वटा भवन बनाउनुपर्ने थियो । भवनहरु बनिसकेका छन् तर फिनिसिङ र रंगरोगनको काम तथा भित्री सडकको काम हुदैछ’ आयोजनाका सिनियर डिभिजन ईञ्जिनियर प्रमोद कर्माचार्यले भने । उनका अनुसार दोस्रो चरणका लागि ठेक्का प्रकृया टुंगिन लागेको छ । दोस्रो चरण अन्तर्गत स्विमिङ पुल सहित केहि भवन र अरु संरचना बन्ने छ । ठेकेदार कम्पनीले हाल मन्त्री निवास भित्रको सडक,भवनका झ्यालहरु,भित्री फिनिसिङको काम गरिरहेको आयोजनाका अर्का ईञ्जिनियर राजिव यादवले बताए ।
२०७५ मंसिर १७ मा बसेको मन्त्रिपरिषद् बैठकले पुल्चोकस्थित मन्त्री आवास साँघुरो भएकाले ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रका लागि छुट्ट्याइएको जग्गामा निर्माण गर्ने निर्णय गरेको थियो ।
संघीय मन्त्री आवास तथा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुखको भवन निर्माणको ठेक्का सिक्रो हनुमान जेभीले १ अर्ब ३ करोड रुपैयाँ लागतमा ठेक्का पाएको हो ।
यो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ असोजमा शिलान्यास गरेका थिए । हाल पुल्चोकमा रहेको मन्त्रीनिवास साँघुरो भएकाले भैँसेपाटीमा अत्याधुनिक मन्त्रीनिवास निर्माण कार्य अघि बढाईको हो ।
यस्तो छ नयाँ मन्त्री क्वार्टर, भिडियोमा
