साउन ३२
चीन भ्रमणमा रहेका प्रधानमन्त्रीका विशेष दुत उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले आजदेखि उच्चस्तरिय राजनीतिक भेटघाट सुरु गर्नुभएको छ । महराले आज चिनियाँ विदेशमन्त्री वाङयी सँग भेट गर्नुभएको छ ।
उपप्रधानन्त्री महरा र विदेशमन्त्री वाङवीच वैइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा आज बिहान भेटवार्ता भएको हो । उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र पनि हस्तान्तरण गर्नुभएको छ । भेटका क्रममा उपप्रधानमन्त्री महरा र विदेशमन्त्री वाङयी बीच द्धिपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुरा भएको बेईजिङस्थित नेपाली राजदुतावसले जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री महरा चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको दिवाभोजमा पनि सरिक हुनुभएको थियो । चीनको छेङदु हुदै मन्त्री महरा हिजो साँझ वेइजिङ पुग्नु भएको हो । भ्रमणका क्रममा चीनियाँ अधिकारीहरुसंग पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धी सम्झौताबारे पनि परामर्श हुने परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । मन्त्री महरा भदौ ३ गते स्वदेश फर्कनुहुने छ ।
