नागढुंगा सुरुङमार्ग झण्डै डेढ किलोमिटर खनियो (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ भदौ ३१ बिहीवार १०:२८ बजे

नागढुंगा सुरुङमार्ग झण्डै डेढ किलोमिटर खनियो (भिडियो सहित)

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग झण्डै डेढ किलोमिटर खनिएको छ । सिस्नेखोला तथा काठमाण्डौंतर्फ टोटीटोल गरी दुबैतिरबाट सुरुङ खन्नेक्रम चलिरहेको छ ।

हालसम्म १४ सय ७३ मिटर सुरुङ खन्ने काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना निर्देशक नरेशमान शाक्यले बताए । ‘मुख्य सुरुङमार्ग ४ सय ३७ मिटर सकियो,आपत्कालिन् टनेल ८ सय ७२ मिटर सकियो,अडिट १ सय २६ मिटर पहिल्यै भईसकेको थियो,क्रस प्यासेज ३८ मिटर सकिएको छ । यसरी टोटलमा १४ सय ७३ सकिएको सेप्टेम्बर १४ सम्ममा अपडेट भाको छ’ उनले भने ।

केहि सडकमार्ग सहित साढे ५ किलोमिटर सुरुङ खन्नुपर्ने जिम्मा जापानीज कम्पनी हाज्मा–आन्द्रो जेभीले पाएको हो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बि.सं. २०७६ को कात्तिकमा यो आयोजना शिलान्यास भएको हो । निर्धारित समय झण्डै २० महिना बाँकी रहेकाले आयोजना समयमै सक्न समस्या सिर्जना भईसहेको निर्देशक शाक्यले बताए । ‘निर्माण व्यवसायीलाई समस्या परेकै छ । उहाँहरुसँग बसेर हामीले रिक्वेस्ट गरेकाले उहाँहरुको सेड्युलमा पहिला चौसिबै घण्टा काम गर्ने थिएन,अहिले चौबिसैघण्टा काम गर्दै हुनुहुन्छ । शनिबार उहाँहरुले काम गर्नुहुन्न । समय बढि लाग्ने भयो भने हामीले शनिबार पनि काम गर्नुहोला भनेर रिक्वेस्ट गर्दैछौँ’ उनले भने । शाक्यका अनुसार अहिले दैनिक १० मिटर सुरुङ खन्नेक्रम चलिरहेको छ । महिनाको ३ सय मिटर खनिदै आएकोमा अक्टोबरदेखि भने मासिक ३ सय ५० मिटर पुर्याउने प्रयास भईरहेको उनले बताए । भौगोलिक अबस्थाले साथ दिए महिनामा ४ सय मिटर खन्ने सम्मको कार्यतालिका बनाउने सोच भईरहेको निर्देशक शाक्यले बताए ।

आयोजनाको सिस्नेखोला तर्फ निर्माणस्थल नजिकै पहिरो गएको छ । जसका कारण विस्थापित केहि परिवारलाई आयोजनाले नै अन्यत्र सारिसकेको छ । काठमाण्डौंतर्फको टोटीटोल तर्फ निर्माणस्थल भन्दा माथिल्लो क्षेत्रका बासिन्दाले पनि धारामा पानी सुकेको,ईनार सुकेको,बम ब्लास्टिङले भुकम्पजस्तै कम्पन दिएको,पुरानो बाटो भत्किएको लगायतका समस्या बताउदै आएका छन् । समस्या समाधान नगरे काम नै बन्द गर्नेसम्मको चेतावनी स्थानीयले दिएका छन् । ‘स्थानीयको जेन्युन कुराहरुलाई हामीले एड्रेस गर्दै गईरहेका छौँ । तर आफ्नो मर्का अगाडि राख्दा कामै बन्द गरेर गुनासो गर्नुपर्ने अवस्था छैन । हाम्रो अफिस,सडक विभागको अफिस वा कन्सल्ट्याण्टको अफिसमा गएर गुनासो गर्दा हामीले उहाँहरुको जेन्युन गुनासोहरु सम्बोधन गर्नेछौँ’ निर्देशक शाक्यले भने ।

आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहुँच सडक निर्माण भईरहेको छ । आयोजना निर्माणस्थलमा अहिले नेपाली तथा जापानी जनशक्ति काममा जुटिरहेका छन् ।

आयोजना निर्देशक नरेशमान शाक्यसँग गरिएको कुराकानी भिडियोमा

 


प्रतिक्रिया

सम्बन्धित समाचार