गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्या अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मीको रेसुङ्गा नगरपालिका(१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका(६ अर्जै घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् ।
ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको हो ।
राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाई रहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरीले ईश्मा गाउँपलिका(३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल ९मुखिया० लाई आगोले पोली डामी मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुम बहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए ।
गत आइतबार राम प्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको फलामे बस्तुले डामेपछी सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
साथै रेसुङ्गा नगरपालिका(५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा राम प्रसादले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको छ । टोपलालाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
