काठमाण्डौ
असोज २
दशै नजिकिदै गर्दा लामो दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ प्रकृया अहिलेसम्म सुरु नहुँदा राजधानी काठमाण्डौबाट बाहिरिने सर्वसाधारण अन्यौलमा परेका छन् । यसअघिका दशैँको समयमा सवारी साधनको टिकट एक महिना अघि नै खुल्ने भएपनि यो बर्ष भने खुलेको छैन ।
यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्यमा पुग्दा ट्राफिक प्रहरीले समात्ने र कच्ची सडकमा मार्ग इजाजत नदिएका लगायत समस्याले टिकट सुरक्षित गर्ने काम सुरु गर्न नसकेको यातायात व्यवसायीहरुले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले व्यवसायीका समस्या समाधान गरी टिकट सुरक्षित गर्न एक साताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका अधिकारीबीच वार्ता भएको बताउनुभयो । काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा भएको दुर्घटनापछि कच्ची सडकमा रुट परमिट नलिई सञ्चालन भएका सवारी बन्द गरिएपछि समस्या थपिएको हो । यात्रुलाइ समस्या हुने देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुट परमिट दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपनि जिल्ला प्रशासनले रुट परमिट नदिदाँ ढिलाइ भएको उहाँले बताउनुभयो । यस वर्ष असोज १५ गते घटस्थापनापछि अधिकांश शैक्षिक संस्था बन्द हुने भएकाले उच्च शिक्षा अध्ययनका लागि राजधानी आएका विद्यार्थी घर फर्कन टिकट खोज्दै नयाँ बसपार्क धाउन थालेका छन् । उपभोक्तावादी संस्थाले भने यातायात व्यवसायीले एकाधिकारका निहुँमा चाडबाडमा बढी भाडा असुल्न खोजेको बताएका छन् । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले व्यवसायी जिम्मेवारी नहुने र सरकारले नियमन गर्न नसक्ने कारणले यात्रु समस्यामा पर्ने गरेको बताउनुभयो ।
