काठमाण्डौ
असोज १
चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
आपूर्ति मन्त्रालयका अनुसार यस्ता सुपथ मूल्य पसल काठमाडौँ उपत्यकामा १३ र उपत्यकाबाहिर २५ स्थानमा सञ्चालन हुनेछन् । सरकारले साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन लागेको हो । दशैं तिहार तथा छठका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनको तयारी गरेको हो । काठमाण्डौ उपत्यकामा थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु(कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन हुनेभएका छन् भने उपत्यका बाहिर बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा, कृष्णनगर, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, लगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरिने भएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य बस्तुमा विशेष छुट पाउनेछन् । चाडपर्व नजिकिदै गर्दा बजारमा अस्वभाविक मूल्य वृद्धि र कालाबजारी बढेका कारण सर्वसाधरणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।
