बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममा लकडाउनकै बिचमा पनि आशालाग्दो प्रगति भएको छ । मेलम्चीको पानी सुरुङमार्ग हुदै सुन्दरीजल ल्याएर टेष्ट गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाल सुन्दरीजलस्थित टनेलमा अन्तिम चरणको काम हुदैछ । गेटको काम करिब सकिएको र स्टिललेस स्टिलको पाईप जडानको काम पनि सकिन लागेको आयोजनाका ईन्जिनियर बर्मलाल राजमण्डारीले बताउनुभयो । ‘स्टिललेस स्टिलको १६ सय एमएमको पाईपबाट जानी जाने हो । पाईप जडानको काम भईरहेको छ’ उहाँले भन्नुभयो ।
नेपालमा कोरोना संक्रमण हुनुपहिले र लकडाउनपछि तुलनात्मक रुपमा अहिले कामदार आयोजनामा घटेका छन् । यद्यपी पहिलेजस्तो धेरै कामदार आवश्यक पर्ने काम समेत बाँकी नरहेको ईन्जिनियर राजभण्डारीले भन्नुभयो । ‘लकडाउन अघि दैनिक ४ सय ५० जना कामदार जति काममा जुट्नुहुन्थ्यो । अहिले सुन्दरीजल साइड तर्फ दैनिक २५ जनाजति कामदार खटिनुभएको छ’ उहाँले भन्नुभयो ।
नेपालमा कोरोनाको संक्रमण बढिरहे पनि मेलम्ची खानेपानी आयोजनाको काममा भने उच्च सुरक्षा सर्तकता अपनाएर काम अघि बढाइएको छ । नयाँ कामदार थप भएमा आरडिटी परिक्षणपछि मात्रै प्रवेश दिने गरेको ईन्जिनियर राजभण्डारीले बताउनुभयो । आयोजनामा मास्क लगाउन अनिवार्य गरिएको छ ।
केहि समयभित्रै टनेलमा टेष्टिङको प्रक्रिया सुरु गर्ने र सुन्दरीजलमा पानी खसाल्नेगरी काम अघि बढिरहेको छ ।
मेलम्ची परियोजनाबारे विगतदेखि नै आम नेपालीको चासो रहदै आएको छ । अब भने छिट्टै नै काठमाण्डौमै पानी आउने गरी काम भएको पाइएको छ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
