काठमाण्डौ
भदौ २९
सरकारले सात वटै संघिय प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय पारित गर्दै उच्च अदालत राख्ने स्थान समेत तय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशको विराटनगर, दुई नम्बरको जनकपुर, तीन नम्बरको ललितपुर, चार नम्बरको पोखरा, पाँच नम्बरको तुलसीपुर, छ नम्बरको सुर्खेत र सात नम्बरको दिपायलमा उच्च अदालत रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री राम कार्कीले जनकारी दिनुभयो ।
संसद्ले सर्वोच्च अदालत ऐनको संशोधित विधेयक पारित गरेसँगै सरकारले प्रदेश उच्च अदालत गठनका साथै त्यसको मुकाम समेत तोकेको हो । साथै मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएपछि सरकारले यसअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक रहेका घिसिङलाइ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस्तै,आज बसेको मन्त्रिपरिषद बैठकले नजिकिदै गरेको चाडपर्वलाइ ध्यानमा राख्दै असोज १ गतेबाट देशका विभिन्न क्षेत्रमा सुपथ मूल्यका पसलहरु सञ्चालन गर्ने निर्णय गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी राजधानीका ११ र देशका विभिन्न २५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने सरकारको निर्णय छ । बैठकले प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणका समयमा कार्यवाहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीलाई दिने निर्णय समेत गरेको छ ।
