साँझ छिप्पिन्थ्यो । मान्छे र गाडीको हुलमुल पातलिन्थ्यो । नाइट क्लव,डान्सबारमा झुम्मिन चाहनेहरुको मात्रै भिडभाड बढ्थ्यो । त्यहि मध्यरातमा आफ्नो डेराबाट निस्किन्थे र ठमेल,लाजिम्पाट,नयाँ बसपार्क तथा चावहिल लगायतका क्षेत्रमा ग्राहक कुर्थे केहि तेस्रोलिंगी ।
अझ दिउसो अनि रातको समयमा पनि अरु केहि महिला पनि यौनकर्मबाट जिविकोपार्जन गर्न विभिन्न शहर विशेषगरी काठमाण्डौको रत्नपार्कमा पुग्थे । यी कुरा सुनिरहँदा नेपाली समाज र संस्कृतिमा अनौठो र लाजलाग्दो भएपनि एक छाक टार्न र एक सरो कपडा लगाउन केहि नेपालीहरुले नै बाध्यात्मक रुपमा स्विकार्नुपरेको व्यवसाय हो यो ।
मान्छे भन्छन्,कोरोना बढेपछिको लकडाउनले व्यापार,व्यवसाय,कार्यालयको काम,आम्दानी हुने बाटो चौपट भो । आफ्नै शरीर बेच्न बाध्य महिला तथा तेस्रोलिंगी यौनकर्मीको व्यथा झन् कस्तो होला ?
समाजले महिला तथा तेस्रोलिंगी यौनकर्मीलाई अत्यन्तै तल्लो नजरबाट हेर्छ,घृणा गर्छ । त्यहि समाजका तल्लोदेखि माथिल्लो ओहोदासम्मका विभिन्न व्यक्ति लुकीछिपी उनीहरुको ग्राहक बन्न पुग्छन् । तर त्यहि व्यक्ति बाहिर निस्किएर उनीहरुलाई नै घृणा गर्छ,जसले भर्खरै मात्र उनीहरुको तिर्सना मेटाईदिएकी थिई ।
प्रसंग बर्तमानमै जोडौँ । लकडाउनको बिच सरकारले झण्डै एक अर्बको राहत बाढेको कुरा स–साना केटाकेटीलाई पनि थाहा छ । तर अधिकांश तेस्रोलिंगी,राहतको परिधिभन्दा बाहिर छन् ।
सरकार आफैले दिएको नागरिकता माग्दै दुईचार किलो राहत बाढ्दै हिड्छ । तर तेस्रोलिंगी,जसको नागरिकतामा लिंग एकथरी किटान गरिएको छ,तर बर्तमानमा उनीहरु अर्कै लिंगको पहिचानमा छन् । कतिपय तेस्रोलिंगीले नागरिकता समेत नलिएका होलान् । यो स्थितिले गर्दा सरकारको राहतको घेराभन्दा बाहिर छन् तेस्रो लिंगी ।
‘कतिपय तेस्रोलिंगी साथीहरु मानसिक समस्यामा पर्ने स्थिति देखिसक्यो । समस्या जटिल बन्दै गएको हामीले पाएका छौँ’ तेस्रोलिंगी समुदायकी अधिकारकर्मी सिम्रन शेरचन भन्छिन् । राज्यले तेस्रोलिंगीको लागि विभिन्न अवसर तथा जागिरका लागि पनि महिला तथा पुरुषलाई जस्तै समान अधिकार नदिएको सिम्रन बताउछिन् ।

‘पहिचानको लडाईँ लगभग सकिएको छ । तथापी संविधानमा व्यवस्था गरिएअनुसार महिला तथा पुरुषलाई जस्तै तेस्रोलिंगीहरुको लागि पनि अधिकार दिलाईनुपर्छ । हामीलाई पनि राज्यले हरेक क्षेत्रमा सम्मानजनक व्यवहार गर्नुपर्छ’ सिम्रन भन्छिन् ।
कोरोनाले विश्व व्यवस्थालाई नै हल्लाईरहेको छ । जसको प्रभाव नेपालमा नपर्ने कुरै भएन । स्थिति सामान्य हुन अझै धेरै समय लाग्ने देखिएको छ । स्थिति सामान्य बनिसक्दा मात्रै पनि तेस्रोलिंगी समुदायको कतिपय व्यक्ति जसले विभिन्न गल्लीहरुमा ग्राहक कुर्नुपर्ने बाध्यता थियो,त्यो अवस्था सहज बनिहाल्ने छैन । किनकी ती चोक,गल्ली,नाईट क्लवदेखि रात्रिकालिन् जीवन पहिलेकै गतिमा पुग्न समय लाग्छ ।
सडकमा शरीर बेच्नु कसैको रहर होइन । राज्य र समाजको आँखाले हेपाहा दृष्टिले हेरेपछि पिछडिदै,तड्पिदै अन्तिम विकल्पको रुपमा स्विकारिएको बाध्यात्मक पेशा हो । राज्यले लैंगिक,अल्पसंख्यक नागरिक जस्तै एलजिबिटीआई समुदायका हरेक व्यक्तिलाई पनि समान अवसर दिने हो भने हामी उनीहरुलाई सकडमा देख्ने थिएनौँ । समाजले पनि उनीहरुको बाहिरी हाँसोलाई मात्र होइन,मनभित्र छचल्किन नपाएर गुम्सिएको पीडालाई पनि देख्ने हो भने उनीहरु पनि आम मानिसजस्तै सहज जिविकोपार्जन गर्ने थिए ।
कतिपय तेस्रोलिंगीहरु परिवारबाट समेत प्रताडित छन्,सम्पर्कविहिन् हुनुपर्ने बाध्यतामा छन् । जसको रहरको पहिचानमा राज्यले चिन्दैन । उनीहरुको पहिरनमा राज्य र समाजले अझैपनि सम्मानित दृष्टिले हेर्न सकेको छैन । यतिबेला अरु पेशा व्यवसाय अंगाल्ने आम जनताको पीरमर्का जसरी राज्यले बुझ्नुपर्ने हो । लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्ति,उहाँहरुको यो संकटकालीन् परिप्रेक्षमा जिविकोपार्जनलाई सहज बनाउन समुदायदेखि पुरै राज्य जिम्मेवार बन्न ढिलो हुदै गइसकेको छ । बेलैमा सम्बन्धित निकायको ध्यान गए उनीहरुले पनि आफ्नै सरकार भेटिएको अनुभूति गर्ने थिए कि ?
थप जानकारी भिडियोमा हेर्न सक्नुहुनेछ ।
