पन्ध्र बीसओटा सिँढी बल्लतल्ल उक्लिएर घाम ताप्न ढुंगामाथी टुसुक्क बसेका ९० बर्षीय बा भन्नुहुन्छ– ‘जीवन कागतीजस्तै हो । रस छउन्जेल चुस्ने अनि रस सकिएपछि मिल्क्याउने ।’
यो कुनै कथा लेख्न तानिएको काल्पनिक वाक्य होइन,पशुपति बृद्धाश्रमभित्र भेटिएका सिन्धुपाल्चोक बाह्रबिसेका ९० बर्षीय मेरमान खड्काले दिएको जीवनको परिभाषा हो । छोराछोरी,श्रीमान वा श्रीमतीबाट अपहेलित भएर तथा आफन्त कोहि नभएर पशुपति बृद्धाश्रममा आइपुगेका १ सय ९५ जना बृद्धबृद्धामध्ये अधिकांशको जीवनबारेको परिभाषा ठ्याक्कै एउटै छ । उनीहरु जीवनको सबैभन्दा ठूलो कुरा माया मोह भएको बताउछन् । पश्चिम क्षितिजमाथी पुगेको घाम जति प्रीय हुन्छ,हाम्रा बा–आमापनि त्यति नै प्रीय हुन्छन् । तर कतिपय सन्तानले यो बुझ्न नसक्दा बृद्धाश्रममा यी यसरी नै जीवनलाई परिभाषित गर्दै र विगत लुकाउदै डुब्न लागेको घामजस्तै मुस्कुराईरहेका छन् बृद्धबृद्धाहरु ।
डाक्टर र कम्पनी मेनेजरका बा बृद्धाश्रममा
बाह्रबिसेबाट बृद्धाश्रम आइपुगेका मेरमान खड्का भूपू नेपाली सेना हुन् । उनले इण्डियन आयल कर्पोरेसन आइओसीमा पनि पेन्सन पकाएका छन् । नेपाल र भारतको दोहोरो पेन्सनवाला उनै बृद्ध बृद्धाश्रममा शरण लिन आइपुगेको ६ बर्ष भयो । खड्काका अनुसार उनको जेठो छोरो दिल्लीमा पान पराग कम्पनीका मेनेजर हुन् । डाक्टर रहेका कान्छो छोरो आमासहित अष्ट्रेलियामा छन् । सबै सम्पती छोरा र श्रीमतीको नाममा गएपछि श्रीमतीसँगको झगडाले बृद्ध खड्का एक्लिन पुगेका हुन् । उनी भन्छन् ‘बुढी बहुलाएर यस्तो भो,छोराछोरीले नि आमाको कुरा पत्याएपछि म बुढो ह्याँ नआर काँ जानु ?’

सौतासँग मिलेर श्रीमानले निकालेपछि
सरकारले सञ्चालन गरेको एकमात्र पशुपति बृद्धाश्रमको मुख्य भवन भूकम्पले क्षति पु¥याएपछि त्यसकै छेउछाउमा जोखिमयुक्त भौतिक संरचनामुनी १ सय बृद्धा र ९५ बृद्धले दिनरात कटाइरहेका छन् । दक्षिणपूर्वी क्षेत्रको सार्वजनिक शौचालय छेवैको चेपबाट भित्र पसेपछि भेटिने लामो घामपानी सहेका यी अनुहारमा जीवन पढ्न पाइन्छ । लथालिंग भौतिक संरचनासँग आड लागेर उनीहरु मुस्कुराईरहेका हुन्छन् । नयाँ मानिसहरु त्यहाँ पुग्दा केहि मिठो खाना वा दुईचार पैसाको आशमा उनीहरु हेराहेर गर्छन् । केहि दिएपनि,नदिएपनि मुस्कुराईरहेका बा – आमाहरु सोधीखोजी गर्न थाल्छन् । कथाजस्तो लाग्ने वास्तविकता बोकेका धेरै बा आमाहरु त्यहाँ छन् । दोलखा चरिकोटकी ७३ बर्षीया मनमाया न्यौपानेका पनि सन्तान नभएका होइनन् । २ छोरीकी आमा मनमाया बृद्धाश्रम आएको ४ बर्ष भयो । श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनका दुःखका दिन सुरु भए । दैनिकजसो श्रीमानको कुटाई तथा सौतानेको गालीगलौज उनले धेरै बर्ष सहिन् । छोरीहरु पनि विवाह गरेर आ–आफ्नो घर लागे । त्यसपछि त झन् उनी सहाराविहिन् भइन् । विगत सम्झिएर भक्कानिदै मनमाया भन्छिन् ‘रक्सी त खादैनथे,उसकी प्यारीको कुरा सुन्दै मेरो घरबाट निक्लिहाल्,निक्लिनस् भने मार्दिन्छु भन्थे । गाउँलेहरुले पनि जेठी ढोकामा दह्रोगरी आग्लो लार सुत है,मार्छ यसले भन्थे । छोरीहरुले त हेर्थे नि के गर्नु नानी,अर्काको छोराले देखिसहेनन् ।’ सौताका ३ जना छोराहरु । उनीहरुले हेला नगरेपनि श्रीमान र सौता मिलेर उनलाई बस्न दिएनन् । दिनरात बाले आमा कुटेको थाहा पाएपछि छोरीहरुले मनमायालाई पालैपालो पाल्ने निर्णय गरे । भएका दुईओटा बाख्रा जेठी छोरीकोमा छोडेर मनमाया पालैपालो कहिले जेठी त कहिले कान्छी छोरीकोमा बस्न थालिन् । कान्छा ज्वाईले पनि रक्सी खाएर आउने र छोरी कुट्ने गरेपनि उनलाई खपिनसक्नुभयो । भन्छिन् ‘रक्सी खाएर ज्वाईले छोरी कुट्छन्,छोरी क्वाँ क्वाँ रुन्छे अनि छोरीको आँशु हेर्दै कसरी मैले खानु नानी ।’ यति भनिनसक्दै मनमायाको आँखा रसाए । त्यसपछि बृद्धाश्रम जाने सोच बनाइन् मनमायाले । गाविसको सिफारिसमा पनि आफन्त छन त छन् तर हेरचाह गरेनन् भन्ने लेखिदिएपछि उनी बृद्धाश्रममा बस्न पाइनन् । कारण ः बृद्धाश्रममा बस्न पालनपोषण गर्ने छोराछोरी नभएको र आफ्नो नाममा चल अचल सम्पती केहिपनि नभएको लगायतका प्रावधान छन् । त्यसपछि उनले गाविसको सिफारिस बदर गरेर कान्छी छोरी बस्दै आएको कोटेश्वर वरिपरीको बसोबास उल्लेख गरी कोहि नभएको भनेर फेरि सिफारिस बनाइन् र बृद्धाश्रम आइपुगिन् । बृद्धाश्रम आइपुगेपछि करिब एक बर्षजति बाँच्ने अनुमान गरेकी मनमायाले ४ वटा दशैँ मनाइसकिन् । उनी भन्छिन् ‘स्वर्ग ठाउँमा आइगएँ । मलामी को जाला भन्नुपर्दैन । सरकारले आर्यघाट लगेर पोल्दिन्छ । ’
शिक्षकका बा बृद्धाश्रममा
मनमायाजस्तै उमेर छउन्जेल घाँस दाउरा,मेलापात र उकाली ओराली गरेका तर उमेर ढल्किदै गएपछि आफन्तबाट अपहेलित भएर बृद्धाश्रम पुगेकाहरु धेरै भेटिन्छन् । उनीहरु सबैका फरक फरक कथा छन् तर निष्कर्ष उस्तै देखिन्छ । मुलुकका विभिन्न क्षेत्रबाट बृद्धाश्रममा आएझै काठमाण्डौ उपत्यकाभित्रैका पनि बृद्धबृद्धा पशुपति बृद्धाश्रममा छन् । सुन्दरीजलका ९६ बर्षका चन्द्रबहादुर अधिकारी बृद्धाश्रम आएको बर्षौ भइसक्यो । उनका छोरो गागलफेदीमा अध्यापन गराउछन् । बृद्धाश्रममै बस्दै आएका भक्तपुर कमलबिनायकका ७५ बर्षीय रत्न भगत श्रेष्ठको पनि अनौठो कहानी छ । श्रीमतीले काम गर्ने ठाँउको मालिकसँगको शारीरिक सम्बन्धबाट बच्चा जन्माइन् । उनले बच्चा जन्माएलगत्तै सिमेन्टको खाली बोरामा बच्चा राखेर मिल्काइदिइन् । त्यसपछि रत्न भगतले श्रीमती छोडिदिए । त्यसपछि उनले अरु दुईओटी श्रीमती पनि भित्र्याए । उनीहरु पनि नबसेपछि रत्न भगत एक्लै भए । जिल्ला अदालतमा करिब २ बर्ष जागिर खाएर छोडेका उनी आफन्तबाटै ठगिए । उनी भन्छन् ‘कान्छाबाउले सम्पती खायो । मेरो सराप लागेर चाडै मरो । मुद्धा हालेपनि आफुलाई कामलाग्ने मान्छे कोहि नहुने । जो पनि खानमात्र खोज्छ । ’ भक्तपुरकै आफन्तविहिन हरिभक्त श्रेष्ठपनि बर्षौदेखि बृद्धाश्रममै छन् ।
स्वर्ग जाने आशमा पशुपति बृद्धाश्रम
सम्पती तथा सन्तान हुँदाहुदैपनि स्वेच्छाले बृद्धाश्रम आउनेहरु पनि छन् । पशुपति नजिकै रहेकाले धार्मिक आस्थाले समेत कतिपय बृद्धबृद्धालाई त्यहाँसम्म डोहो¥याएको छ । बाँसबारी काठमाण्डौका अमृतानन्द स्वामीका छोराछोरी कोहि अमेरिका त कोहि जापानमा छन् । उनी छोराछोरीको बेवास्ताले बृद्धाश्रम आएका होइनन् । बरु महंगो मोबाइल बोकेका उनी इच्छा लागेको समयमा छोराछोरीसँग फोनमा कुराकानी गर्छन् । नेपाल आउँदा छोराछोरीले पनि उनीसँग भेट गर्छन् । उनको श्रीमतीको निधन भएको १८ बर्ष भयो । उनी भन्छन् ‘ तीर्थब्रत सबै डुलिसकेँ । अब भगवान पशुपतिनाथको छेउमा बस्छु । पहिले देउघाटपनि बसेँ,भगवानकै छेउमा बस्दा स्वर्ग जान पाइन्छ कि भनेर नि ।’
अविवाहित लक्ष्मीआमा
पूरानो बानेश्वरबाट बृद्धाश्रम पुगेकी ८४ बर्षीया लक्ष्मीदेवी थापालाई सबैले लक्ष्मीआमा भनेर चिन्छन् । तर उनी वास्तविक जीवनमा कहिल्यै छोराछोरीकी आमा भइनन् । अविवाहित लक्ष्मीले उमेर छउन्जेल अरुको घरको काम गर्दै बिताइन् । उनका आफन्त सबै १९९० सालको भूकम्पमा परेर बिते । उनी सानैदेखि अर्काको घरमा हुर्किइन् । १६ बर्ष भयो उनी बृद्धाश्रम पुगेको । कति पढ्नुभयो भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन् ‘कति पढ्नु नि,बिहान एकथाल बेलुका एकथाल ।’ अनि विवाह किन नगरेको भन्ने प्रश्नमा थप्छिन् ‘उबेलामा अल्लारे पन,आट्यो हण्डर खान भनिन्थ्यो । दुःख बेसाउन के बिहे गर्नु भन्ने सोचियो बाबु त्यसबेला । ’
टहरोमुनि बृद्धबृद्धा
पशुपति बृद्धाश्रमका कतिपय बृद्धबृद्धा स्विटर,टोपी बुनेर तथा धागोको बत्ति कातेर बेच्ने गर्छन् । त्यसबाट आएको पैसाले उनीहरु खान मन लागेको कुरा खाने बताउछन् । विभिन्न संघसंस्था तथा व्यक्तिले महिनाका धेरैजसो दिन बृद्धबृद्धालाई खाना खुवाउँछन् । तरपनि सरकारले बृद्धाश्रमका लागि सबैभन्दा बढि खाद्यान्नकै लागि बजेट छुट्याउने गरेको छ । सरकारले बर्षमा चैतेदशै र ठूलोदशैको आसपास त्यहाँका बृद्धबृद्धाहरुलाई दुईजोर कपडा दिन्छ । महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गतको यस बृद्धाश्रमको धेरै बजेट अन्य सेवाशुल्कमा जाने बृद्धाश्रमका प्रशासन प्रमुख कृष्ण कडेँलले बताए । उनका अनुसार पशुपती बृद्धाश्रममा १८ जना करार कर्मचारी छन् । भान्से,टहलुवा तथा सुसारे जस्ता श्रेणीविहिन कर्मचारी धेरै छन् । उनीहरुले न्युनतम मासिक १६ हजार रुपैया पारिश्रमिक पाउछन् । आन्तरिक खर्चमै बढि बजेट जाने भएकाले एकमात्र सरकारी बृद्धाश्रमको भौतिक संरचना डरलाग्दो छ । भूकम्पले क्षति पु¥याएपछि सानो टहरो बनाएर बृद्धबृद्धालाई राखिएको छ । यो बृद्धाश्रम केहि बर्षभित्र गोठाटारमा दश रोपनी जग्गामा सर्ने र ५ सय क्षमताको अत्याधुनिक भवन बन्ने प्रशासन प्रमुख कडेँलले बताए । भौतिक संरचना भत्किएदेखि सरकारले बृद्धाश्रममा अरु बृद्धबृद्धा राखेको छैन । नयाँ भवन बन्न पनि अझै केहिबर्ष लाग्ने देखिन्छ । एकमात्र सरकारी बृद्धाश्रममा सरकारको ध्यान नजाँदा अव्यवस्थित टहरोमुनी बृद्धबृद्धाले कष्टपूर्ण जीवन बिचाउनुपरेको छ । अर्कोतर्फ समाजमा एक्लिएका र आफन्तबाटै अपहेलित बृद्धबृद्धाले आश्रम आउन पाएका छैनन् ।
