काठमाण्डौ
भदौ २९
पूर्व विशिष्टहरुमध्ये आफै उपचार गर्न नसक्नेहरुकोमात्र उपचार खर्च ब्यहोर्ने व्यवस्था मिलाउन ब्यवस्थापिका संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले आज स्वास्थ्य मन्त्री गगन थापा, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई बोलाएर गरेको छलफलपछि त्यस्तो निर्देशन दिएको हो ।
पूर्व विशिष्टहरुको उपचारमा राज्यकोषबाट करोडौं खर्च हुने परिपाटीको तिब्र आलोचना भइरहँदा समितिले आर्थिक हैसियतले नधान्ने पूर्व विशिष्टहरुको उपचार खर्चमात्र ब्यहोर्न सरकारलाई निर्देश गरेको हो । समितिले सबै नेपालीको स्वास्थ्य विमा हुने गरी चाँडो निर्देशिका बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । हाल मेडिकल बोर्डको सिफारिसमा उपचारका लागि विदेश पठाउने र सरकारले उपचार खर्च व्यहोर्ने गरिएकोमा अब आइन्दा पूर्वपदाधिकारीलाई आर्थिक सहायता उपलब्ध गराउँदा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने र आफैले उपचार गर्न सक्ने प्रमाणित भए राज्यले खर्च नव्यहोर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।
बैठकमा उपस्थित स्वास्थ्य मन्त्री गगन थापाले विशिष्ट व्यक्तिहरुको उपचार नेपालकै अस्पतालहरुमा गर्नुपर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यकता औंल्याउनुभयो । विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा स्थापना गरिएको भीभीआइपी कक्ष हालसम्म कसैले प्रयोग नगरेको भन्दै उहाँले गुनासो गर्नुभयो ।
