काठमाण्डौ
भदौ २३
काठमाडौंको चन्द्रागिरी नगरपालिका १ स्थित चिहान डाँडामा आज विहान अज्ञात हतियारधारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ । चिहानडाँडामा टाटा सुमोमा गएका हतियारधारी समूह र प्रहरीबीच बिहान साढे ५ बजे गोली हानाहान भएको काठमाडौ प्रहरी प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
मातातीर्थ तर्फ जादै गरेको बा १ ज ३९४८ नम्बरको टाटासुमोलाई रोकेर प्रहरीले सोधपुछ गर्दा त्यस भित्र रहेका ४ जनाले टाटासुमो छोडेर भागेपछि प्रहरीले पिछा गर्नेक्रममा गोली हानाहान भएको हो ।
पहिले उनीहरुले भाग्दै प्रहरीतर्फ २ राउन्ड गोली फायर गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । सुमोमा बन्द अवस्थामा रहेको एउटा सेफ फेला परेको एसपी कार्कीले जानकारी दिनुभयो ।
उहाका अनुसार भाग्ने समुहले कुनै बैंक तथा वित्तिय संस्थामा रहेको सेफ अथवा सुनचाँदी पसलमा रहेको सेफ लुटेर लैजादै गरेको अनुमान गरिएको छ । तर प्रहरीका अनुसार अहिलेसम्म काठमाडौमा चोरी भएको उजुरी परेको छैन । स्थानीय मातातीर्थ जंगलमा फरार उनीहरुलाई प्रहरीले खोजी तीव्र पारेको छ ।
