काठमाण्डौ
भदौ २२
सुनसरीको अमाहिबेला गाविसको इष्टर्न सुगर मिल्सले २ बर्षदेखि आफुलाई उखु विक्रिवापतको रकम नदिएको भन्दै सुनसरी, मोरङ र झापाका ८ हजार किसान आन्दोलनमा उत्रिएका छन् । सो मिललार्ई तीन वटै जिल्लाका किसानहरुले दिएको उखुको ४५ करोड रुपैयाँ नपाएको भन्दै उखु किसानहरु एक साथ आन्दोलित भएका हुन् ।

तीन बर्षदेखि किसानले उत्पादन गरेको उखुको मुल्य नपाएपछी चिनिमिल संचालकसंग ३ वटै जिल्लाका किसानहरुले रकम भुक्तानीको व्यवस्था मिलाईदिन माग गर्दै उनीहरुले सुनसरी तथा मोरङका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । २ बर्षदेखि आफुले पाउनुपर्ने रकम नपाउँदा दैनिक जीवन चलाउनै समस्या परेको भन्दै किसानहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । २०७१ सालदेखि इष्टर्न सुगर मिल्सलाई दिएको उखुको ४५ करोड रुपैया चिनि मिल संचालक उद्योगपती दिवाकर गोल्छाले भुक्तानी नदिएका कारण आफुहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । उखु दिएवापतको रकम माग गर्दै आन्दोलनमा उत्रिएका उखु किसानहरुले इष्टर्न सुगर मिल्सको मर्मत सम्भार कार्यलाई अबरुद्ध पारेका छन् ।
