काठमाण्डौ
मंसिर २६
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छुट्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकविरुद्ध पश्चिमका विभिन्न जिल्लामा आज पनि विहानैबाट प्रर्दशन भईरहेको छ । गुल्मी, रोल्पा र प्यूठानलगायतका जिल्लामा विहानैदेखि प्रदर्शन भईरहेको त्यहाँस्थित हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् । आन्दोलनकारीले आज पनि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिइरहेका छन् । सरकारले मंसिर १४ गते राति संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि भोलीपल्टदेखिनै खासरी पाँच नम्बर प्रदेशअन्तर्गतका जिल्लाहरुमा आन्दोलन भईरहेको छ । जसका कारण १२ दिनदेखि ती क्षेत्रमा शिक्षण संस्था, बजार, उद्योग व्यवसाय समेत प्रभावित भएका छन् । साँझ ५ बजेपछि छोटो दुरीका सवारी साधन चलेपनि लामो दुरीमा भने यातायात अझै नखुलेको त्यहाँबाट हाम्रा सहकर्मीहरुले जनाएका छन् । यता रुपन्देही , पाल्पा, अर्खाखाचीमा भने बन्द खुलेको छ ।
अर्घाखाची र रुपन्देहीमा केही दिनअघि नै बन्द खुलेको हो भने पाल्पामा हिजोबाट बन्द खुलेको हो । बन्द खुलाईएका जिल्लाहरुमा आन्दोलनकारीले जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिईरहेका छन् । यस्तै केही दिनअघि बन्द खुलाएका रुपन्देहीवासीले आजबाट फेरी जिल्ला बन्दको आह्वान गरेका छन् । उनीहरुले केही दिनअघि आजसम्मका लागि भन्दै बन्द हड्ताल जस्ता कार्यक्रम स्थगित गरेका थिए । पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावविरुद्ध ती क्षेत्रका सबैजसो दल तथा अन्य संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।
