काठमाण्डौ
साउन ३२
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । नेविसंघ अध्यक्षका लागि संस्थापन र पौडेल पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने अन्यले स्वतन्त्ररुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवार दर्ताका लागि निर्धारित समय सकिएको र अध्यक्षमा सात जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य कृष्ण पनेरुले जानकारी दिनु भयो । संस्थापन पक्षबाट नैनसिंह महर र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पूर्वमहामन्त्री मनोजमणि आचार्यले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै पौडेल समूहमै रहेका आनन्दराज त्रिपाठीले पनि अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् । पनेरुका अनुसार अध्यक्षका पदका लागि नेविसंघ नेताहरु लक्ष्मण आचार्य, शुभराम बस्नेत, नगेन्द्र सिंह र बचन कार्कीले उम्मेदवारी दर्ता भएको छ । संस्थापन पक्षले महरलाई अध्यक्षको उम्मेदवार बनाउँदै सरोजकुमार थापा र कुन्दन काफ्लेलाई महामन्त्रीको उम्मेदवार बनाएको छ भने बरिष्ठ नेता पौडेल पक्षले पूर्वमहामन्त्री आर्चायको नेतृत्वमा महामन्त्रीमा हिमालदत्त श्रेष्ठ र दिपक भट्टराईलाई उम्मेदवार बनाएको छ । उम्मेदवारको पहिलो नामावली केहिबेरपछि प्रकाशन हुने छ । उम्मेदवारको दोस्रो नामावली दिउँसो साढे तीन बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । यस्तै उम्मेदवारको मनोनयन पत्रमा दाबी विरोधका लागि दिउँसो ३ः०० बजेदेखि ३ः३० बजेसम्मको सयम तोकिएको छ । उम्मेदवारी फिर्ताका लागि साँझ साढे पाँच बजेसम्मको समय निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिने निर्वाचन समितिका सदस्य पनेरुले बताउनु भयो । नयाँ नेतृत्वका लागि भने भोली विहान सात बजेदेखि पार्टी कार्यालय सानेपामा मतदात सुरु हुनेछ ।
