काठमाण्डौ
साउन ३२
१३ जना नेपालीको मृत्यु हुनेगरी केहि समयअघि अफगानिस्तानको काबुलमा भएको आतंकबादी आक्रमणको घट्नाबारे छानविन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाइ बुझाएको छ ।
श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा गठित समितीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाइ प्रतिवेदन बुझाएको हो । गत असार ९ गते मन्त्रीपरिषदले सचिव लम्सालको नेतृत्वमा छानविन समिती गठन गरेको थियो । समितीले सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने निष्कर्ष निकालेको छ । प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने उल्लेख छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले ‘विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको धारणा रहेको बताउनुभयो । उहाले प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने आश्वसन दिनुभयो । प्रतिवदेन बुझाउने टोलीसंग तत्कालीन श्रम मन्त्री रहनुभएका आपूर्ति मन्त्री दीपक बोहरासमेतको उपस्थिति थियो ।
