विपन्नलाई स्वास्थ्यसेवामा पहिलो प्राथमिकता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार १५:०१ बजे

विपन्नलाई स्वास्थ्यसेवामा पहिलो प्राथमिकता

काठमाडौँ, १५ फागुन ।

स्वास्थ्यमन्त्री गगन थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताउनुभयो ।

सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको उँहाले बताउनुभयो । उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू कटिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्यसचिव सोमलाल सुवेदीले जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा दिने काममा मन्त्रालय गम्भीर हुनुपर्ने भन्दै कर्मचारीहरुलाई राजनीतिभन्दा कामतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्र उप्रेतीले जनतालाई दिने सेवाप्रति मन्त्रालयले कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पु¥याएका जिल्ला कार्यालय अछाम, सुर्खेत र बैतडीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार–२०७३ जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका सुपरभाइजर ध्रुवलाल उराँव, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका आयुर्वेद निरीक्षक स्व सुरेन्द्र शाहलाई प्रदान गरिएको थियो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार