सोलुखुम्बु, १३ फागुन ।
२०७२ सालको भुकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ । जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिल्ला विकास समितिमा पहिलो चरणमा दुई करोड २४ लाख रुपैया प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
भत्किएकामध्ये ४८ वटा गुम्बाको मर्मत तथा पुनर्निर्माणका लागि प्राप्त भएको बजेट सम्झौताको क्रम सुरु भएको स्थानीय विकास अधिकारी शर्माले जानकारी दिनुभयो । पहिलो चरणको प्राप्त भएको सो बजेट क्षतिका आधारमा सम्झौता भइरहेको र थप रकम मागसमेत गरिएको शर्माले बताउनुभयो ।
भूकम्पका कारण सोलुखुम्बुमा ७४ वटा गुम्बामा क्षति पुगेका थियो । भत्किएकामध्ये अधिकांश भवन अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । केही गुम्बाको स्थानीयवासी आफँैले मर्मत गरेको भए पनि गुम्बा निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने तथा स्थानीयवासीको घर नै पुनर्निर्माण गर्न नसकिरहेको अवस्थामा गुम्बा प्राथामिकतामा पर्न नसकेको बौद्ध धर्मावलम्बीको भनाइ छ । रासस
