काठमाण्डौ,१० फागुन ।
गतबर्षसम्म दैनिक ८ देखि १८ घण्टासम्म लोडसेडिङ सहदै आएको काठमाण्डौ उपत्यकालाई चौबिसै घण्टा उज्यालो बनाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ धेरैको आँखाको नानी बनेका छन् । जनताले लोडसेडिङ अन्त्यलाई चामत्कारिक भनेपनि घिसिङ भने वैज्ञानिक विधिबाट नै व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइएकाले यो सफल भएको बताउछन् । विद्युत चुहावट नियन्त्रण,विजुली माग र सप्लाईको व्यवस्थापनजस्ता वैज्ञानिक रणनीतिले गर्दा काठमाण्डौ उपत्यका लोडसेडिङ मुक्त भएको हो ।
के भन्छन् कुलमान ?
‘लोडसेडिङ अन्त्य भन्ने विषय आम मिडिया र जनतामा चमत्कारको विषय भयो,कसरी भयो भन्ने जिज्ञासा छ । विद्युत भनेको विज्ञान हो । विज्ञानकै नियमभित्र विद्युत फ्लो हुन्छ । त्यहिअनुसार डिमाण्ड र सल्लाईको स्थितीलाई हामीले पूर्ति गर्नुपर्ने हुन्छ । यो कुनै चमत्कार होइन । विज्ञानकै नियमअनुसार हामीले व्यवस्थापन गरेका हौँ । हामीसँग भएका रिसोर्सबाट नै हामीले समुचित व्यवस्थापन गरेका हौँ । रिसोर्स हिजोपनि त्यहिँ थियो र आजपनि उहि हो । मुख्यगरी बर्षायाममा विद्युत उत्पादन बढि हुन्छ । नदिहरुमा पानीको वहाव बढि हुँदा उत्पादन बृद्धि हुन्छ । माघ फागुनमा पानीको वहाव न्युनतममा झर्छ । यस्तो अवस्थामा लोडसेडिङ हुदै आएको थियो । ’ लोकमानको भनाई छ ।
बैकल्पिक उर्जा उत्पादकहरुको ढाड सेकियो
दैनिक ८ देखि १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका आम जनतालाई लोडसेडिङ अन्त्यले ठूलो सहयोग पु¥याएको छ भने अर्कोतर्फ बैकल्पिक उर्जाको भर पर्नुपरेको छैन । बैकल्पिक उर्जा उत्पादकहरु मारमा परेपनि लाखौँ जनतालाई ठूलो राहत दिलाउन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सफल भएका छन् । गतबर्षसम्म बर्षेनी लाखौँको बैकल्पिक उर्जाका सामग्री किनबेच हुन्थ्यो । तर,यो बर्षदेखि आम सर्वसाधरण बैकल्पिक उर्जाको लागि हतारिनुपर्ने स्थिती अन्त्य भएको छ ।
देशैभर लोडसेडिङ अन्त्य गर्ने प्राधिकरणको प्रयास
अन्य क्षेत्रको लोडसेडिङ बढाएर काठमाण्डौमा लोडसेडिङ हटाएको हो कि भन्ने जिज्ञासामा घिसिङ भन्छन् ‘अन्य क्षेत्रको लोडसेडिङ बढाएर काठमाण्डौ उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने भन्ने होइन,मुलुकभरलाई नै लोडसेडिङ अन्त्य गराउने प्रयत्न हाम्रो जारी छ । ’ घिसिङका अनुसार काठमाण्डौ उपत्यकाभन्दा बाहिरका केहि ठाँउमा लोडसेडिङ अन्त्य छ । भएका ठाँउमा पनि केहि घण्टामात्र छ । नेपालभर के कति माग विजुली छ र विद्युतको माग बमोजिम सप्लाई गर्न के गर्न सकिन्छ ? के गर्ने ? भन्नेमा सरकार जुटेको देखिन्छ । जसले गर्दा विद्युत वितरण पारदर्शी बन्दै गएको प्रष्ट देखिन्छ । विद्युत आयात पनि बढाउदै लगिएको तथा मुलुकभित्रकै विभिन्न क्षेत्रमा निर्माणाधिन विद्युत आयोजनाहरु पनि सम्पन्न उन्मुख रहेकाले काठमाण्डौमा फेरि लोडसेडिङ खेप्नु नपर्ने देखिन्छ ।
कसरी भयो लोडसेडिङ अन्त्य ?
ऊर्जा मन्त्रालयले लोडसेडिङ कम गर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना निर्माण गरी नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई सोहीअनुसार काम गर्न स्पष्ट निर्देशन दिएपछि प्राधिकरणले लोडसेडिङ कम मात्र होइन राजधानी काठमाण्डौको लोडसेडिङ अन्त्य गरेको हो । हाल उपत्यकामा रातिको पिक आवरमा ३०० मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २०० मेगावाट छ । साँझको दुई घन्टाको पिक आवरका लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्दै आएको छ । एक महिनाअघि नेपालमा थप ४० मेगावाट विजुली थपिएको छ । नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात एक महिनाअघिदेखि भइरहेपछि विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई थप सहयोग पुग्दै आएको छ ।
सडक बत्ति बालेकै महानगरपालिकाले ८६ करोड तिर्न बाँकी
मुलुकभर नै लोडसेडिङ अन्त्य गर्ने र तत्काललाई भने कम गर्ने अभियानमा प्राधिकरण र कार्यकारी निर्देशक घिसिङ सक्रिय भइरहेका छन् । जसअन्तर्गत विद्युत महसुल नतिर्ने कम्पनी तथा विभिन्न निकायमाथी प्राधिकरणको नजर पुगिसकेको देखिन्छ । यसैबिच काठमाण्डौ महानगरपालिकाले समेत विद्युत प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको खुल्न आएको छ । सो रकम भुक्तानीका लागि प्राधिकरण निर्देशक घिसिङले महानगरपालिकालाई पत्र पठाइसक्नुभएको छ । सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले प्राधिकरणलाई बिजुली बक्यौता ८६ करोड रुपैयाँ तिर्न बाँकी रहेको देखिएपछि स्वयम महानगरपालिकाकै कतिपय कर्मचारी अचम्मित बनेका छन् । आजभोलि प्राधिकरण निर्देशक घिसिङ काठमाण्डौ उपत्यकालाई दीर्घकालीनरुपमा लोडसेडिङ अन्त्य गर्ने र मुलुकलाई नै लोडसेडिङमुक्त बनाउने उद्धेश्यका साथ सक्रिय हुनुहुन्छ ।
हिरो कुलमान

नेपालमा विभिन्न निकायमा एक एकजनामात्र कुलमान घिसिङजस्ता मुलुक र जनताप्रति जिम्मेवार र कर्तव्यनिष्ठ,दुरदर्शी पात्रहरु भइदिने हो भनेपनि मुलुकको विकासका लागि नेता र राजनीतिक घट्नाक्रमकै भर पर्नुपर्ने होइन । भ्रष्ट्राचार र अपारदर्शीताले मुलुक आक्रान्त भइरहेको बेला काठमाण्डौ उपत्यकाजस्तो मुलुकको केन्द्र लोडसेडिङजस्तो भयानक रोगबाट मुक्त गराउने डाक्टर उनै घिसिङप्रति आम जनताको साधुवाद पक्कै रहिआएको छ । समृद्ध मुलुक निर्माणका लागि हरेक क्षेत्रमा कुलमान जन्माउने हात आम जनताको पनि हो ।
