२८ पौष,
काठमाण्डौ ।
भोलिदेखि माघ १० गतेसम्म युनाइटेड क्लबले पोखराको अमरसिंह चौरमासञ्चालन गर्न लागेको सातौँ पोखरा महोत्सवको तयारी पुरा भएको छ ।
पत्रकार भेटघाट कार्यक्रम गर्दै क्लवले प्रचारप्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको पुस २९ गते दिउँसो १ बजे अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमिति क्रियाशील रहेको जानकारी दिँदै क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङले महोत्सवमा दुईसय ४० स्टल रहने बताउनुभयो ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामानको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम् जानकारी आदि रहने र यसपटक नीलगाई, रतुवा मृग, हुचिल, अजिङ्गर, मृग आदि जङ्गली जनावर पनि प्रदर्शन गरिनेछ ।
