काठमाडौँ, २५ पुस ।
व्यवस्थापिका–संसद्को आजको बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्य्विधि, २०७३’ अनुमोदन गरेको छ ।
संसद्को सोमबारको बैठकले अनुमोदन गरेको कार्य्विधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घण्टा निर्धारण गर्न सक्नेछन् ।
त्यस्तै जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार साधारणतयाः पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् । यस कार्य्विधिमा संसद्मा सञ्चालन हुने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजनलगायत अन्य सञ्चारका माध्यमबाट समेत प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख छ ।
