काठमाण्डौ
भदौ १३
प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको ठेक्का विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भनि चलाइएका हल्ला पूर्णतः निराधार भएको दावी गर्नुभएको हो ।

फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय आफ्नै पहलमा भएको भन्दै दाहालले अघिल्लो सरकारका पालामा उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतले आफूले गरेको जोडबलले सो निर्णय भएको दावी गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले आफू भारत भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर राष्ट्रिय महत्वका विषयहरुमा नीतिगत र प्राविधिक राय लिने पनि बताउनुभयो ।
आफू धेरै बोल्नेभन्दा धेरै गर्ने ठाउँमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मुलुकसामू धेरै चुनौतिहरु रहेकाले मिलेर सामना गरेमात्र तिनलाई अवसरमा बदल्न सकिने बताउनुभयो । संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्ने दायित्व पुरा गर्न सबै शक्तिहरुसँग सहकार्य गर्न जरुरी रहेपनि आफ्नो नेतृत्वको सरकारले त्यस्तो सहकार्य गर्दा कसैसँग राष्ट्रिय हित विपरित सम्झौता नगर्ने स्पष्ट गर्नुभयो ।
भेटमा पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री, विज्ञहरु हरि पण्डित, गोपाल सिवाकोटी ‘चिन्तन’, द्धारिकालाल ढुंगेल, रत्नसागर श्रेष्ठ लगायतले निजगढ–काठमाडौं द्रुतमार्ग, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मस्र्याङ्दी जलविद्युत आयोजना लगायतका राष्ट्रिय आयोजना नेपाली लगानीमानै निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
