सरकारले घोषणा गरेको ‘घुमफिर वर्ष २०७३’ को लगभग नौ महिना बिति सक्दा पनि प्रभावकारी बन्न सकेको देखिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभित्रैका विभिन्न स्थानहरुमा २०७३ सालभरी ५ देखि ६ लाख आन्तरिक पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा घुमाउने र प्रचारप्रसार गर्ने योजनासहित घुमफिर वर्ष घोषणा गरेको थियो ।
देशको आन्तरिक समस्या र भूकम्पका कारण विदेशी पर्यटकको आगमन घटेसँगै पर्यटन प्रवद्र्धनमा केही गर्न आवश्यक रहेको भन्दै घुमफिर वर्ष मनाउने निर्णय गरिएको थियो । यद्यपि प्रभावकारी योजना अभावका कारण पूर्ण कार्यान्वयनमा आउन नसक्दा घुमफिर वर्ष नारामा मात्रै सिमित देखिएको छ ।
सरकारीसहित निजी कम्पनीले पनि आफ्ना कर्मचारीलाई अनिवार्य घुमघाममा पठाउनुपर्ने प्रावधान समेटिएको कार्यबिधि नै सरकारले ८ महिनापछि गत मंसिरमा तयार पारेको थियो । कार्यबिधिअनुसार कर्मचारीहरु बिदामा घुम्न जाँदा आफूखुसी कुनै एक गन्तव्यमा मात्र भने जान पाउने छैनन् ।
त्यसका लागि मुलुकभरका पर्यटन व्यवसायीबाट आफ्नो सेवा–सुविधामा दिन सक्ने अधिकतम छुट र प्याकेज सरकारलाई उपलब्ध गराउनुपर्नेछ । सोही आधारमा मन्त्रालयले बिदा पर्यटनमा जाने पर्यटकलाई ती गन्तव्यका लागि सिफारिस गर्नेछ । यद्यपि एक २०७३ को अन्तिममा आइपुग्दा बल्ल तयार भएको कार्यबिधिले के योजना सफल भएको मानिन्छ त? यो प्रश्न आम पर्यटनकर्मी र सरकारलाई लागेको छ ।
गत वर्षको भूकम्पका कारण विदेशी पर्यटकको आगमनमा निकै कमी आएपछि पर्यटन मन्त्रालयले आन्तरिक पर्यटनमा जोड दियो, ‘आन्तरिक घुमफिर वर्ष २०७३’ को अवधारणा ल्यायो र घोषणा पनि ग¥यो । मुलुकको आन्तरिक पर्यटन प्रवद्र्घनका लागि आन्तरिक घुमफिर वर्ष निकै सकारात्मक कुरा हो, सम्भवतः आन्तरिक घुमफिर वर्षको घोषणा नेपालमा पहिलो पटक भएको छ । तर, यो प्रभावकारी हुन सकेन । यसको अर्थ कुनै आकर्षक नाराले मात्रै कुनै पनि योजना सफलतापूर्वक सम्पन्न गर्न सकिदैन भन्ने प्रमाणित भएको छ ।
यस अर्थमा कि यसका लागि आवश्यक गृहकार्य नै भएको थिएन । अर्को कुरा सरकारले घोषणापूर्व निजी क्षेत्रका ब्यवसायीहरुसँग छलफल नगर्दा योजना नै प्रभावकारी नबनेको ब्यवसायीहरुको गुनासो छ । हुन पनि आवश्यक छलफलबाट आएका यस्ता अभियानहरूले मात्र सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो महत्वपूर्ण योजना उद्घोष गर्नु अघि ब्यवसायीक छाता संघसस्थाहरूसँग प्रयाप्त छलफल गर्नु पथ्र्यो ।
यद्यपि त्यो गर्न सकेन । यस्ता योजना र असफलता बिगतमा पनि पर्यटन क्षेत्रले भोगेकै थियो । तिनै विगतका गल्तिहरूबाट पाठ सिक्दै यस्ता योजनाहरू परिलक्षित गरी अगाडी बढाउनका लागि पर्यटन मन्त्रालयले पर्यटन बोर्ड लगायत पर्यटनसँग सम्वन्धित ब्यवसायीक छाता संघसस्थाहरूसँग समन्वय÷सहकार्य गर्न सक्नुपथ्र्यो । त्यसो हुन नसक्दा योजना गफ जस्तै बन्न पुग्यो ।
नेपालमा भएका प्रमुख धार्मिक, पुरातात्विक, सांस्कृतिक, साहसिक पर्यटन लगायतका पर्यटनस्थलहरूको ब्यापक प्रचारप्रसार गर्दै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने खालका विविध योजनाहरू बनाउनु पर्छ । पहिलो कुरा त पर्यटनले मात्रै मुलुकको अथाह सम्बृद्धिको सपना देख्नुपर्ने मुलुक नेपाल राजनीति अस्थिरतमै रुमल्लिएको छ भने दोस्रो कुरा भ्रष्ट र कामचलाउ कर्मचारीतन्त्रको दलदलमा फँसेको छ ।
जसका कारण घुमफिर वर्षको असफलतासँगै सन् २०१८ का लागि घोषणा गरिएको अन्र्तराष्ट्रिय पर्यटन वर्ष पनि असफल हुने संकेत देखिएको छ । तसर्थ घुमफिर वर्षको असफतालाई अवसर बनाएर ‘अन्र्तराष्ट्रिय पर्यटन वर्ष २०१८’ को सफलताका लागि आम सरोकारवालाले अहिलेदेखि ध्यान दिने कि ?
