काठमाण्डौ
भदौ १२
प्रमुख प्रतिपक्षी दल एमाले सांसद एवम् संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा कार्यजोजना लागू गर्नुपर्ने भन्दै व्यवस्थापिका संसदको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको छ ।
प्रस्ताव पेश गर्दै अधिकारीले सडक दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, कच्ची सडक र सिन्डिकेट भएको बताउनुभयो । सांसद अधिकारीले पछिल्ला दिनमा सडक दुर्घटनाका गम्भीर दृश्य देखिएकाले यो महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सार्वजनिक यातायातलाई भरपर्दो बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । खराब सडकका कारण भएका दुर्घटनामा चालकलाईमात्र दोष दिएर नहुने अधिकारीको भनाई छ । अधिकारीले संसदमा पेश गरेको प्रस्तावको एमालेकै सांसद गणेश पहाडी र संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले समर्थन गरेपछि संसदमा त्यसबारे छलफल भएको छ ।
