बर्दिवास, ९ पुस ।
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले गएको मङ्गलबार बर्दीबासमा एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरे पछि त्यस क्षेत्रका मुसहर समुदायमा खुसि छाएको छ ।
धुर्मुस–सुन्तलीको घोषणायता बस्तीमा दिनहुँजसो रमाइलो गर्दै आएका मुसहरले पराले भुप्रोबाट कहिल्यै मुक्ति पाउने नसोचेको कुरा अब हुन लागेको बताएका छन् । बस्तीकी अगुवा ६५ वर्षकी मानकी सादाले अब परिवारका सबैलाई पराले झुप्रोको एउटै कोप्चोमा सुत्नु बस्नुपर्ने अप्ठ्यारो हट्ने बताउनुभयो ।
गएको वर्ष पुस महिनाकै दोस्रो हप्ता आफ्नो बस्तीमा आएका धुर्मुस–सुन्तलीले आफ्ना सिँगाने साना नानीलाई काखमा राखेर खेलाउँदा स्वाङ् पारेको लागेको सम्झँदै मानकीले चुनावका बेला भोट माग्न आउने नेता पनि हाम्रा नानीलाई सुम्सुम्याउँदै माया गरेको देखाउँथे तर उनीहरुको दर्शन पाउन फेरि अर्को चुनाव आउनुपर्ने गुनासो गर्नुभयो ।
