काठमाण्डौ
मंसिर २६
काठमाण्डौको जोरपाटीस्थित महानगरीय प्रहरी बिट नयाँबस्तीमा स्थानीयले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् । प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले प्रहरी बिटमाथि आक्रमण गरेका हुन् । आक्रोशित भिडले प्रहरी बिटमा आक्रमण गर्दा दुई तले भवनमा पूर्ण क्षति पुगेको छ ।
प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएको आरोपमा चालक लामालाई प्रकाउ गरेको थियो । पक्राउपछि प्रहरीको कुटपिटले लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरीविरुद्ध खनिएका हुन् । प्रहरीले भने अत्याधिक रक्सी पिएका लामालाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको बताएको छ । आक्रोशित भिडले प्रहरी बिटमा पाक्दै गरेको खानासमेत फालिदिएका छन् । स्थानीयवासीको भिड अचानक प्रहरी बिटमा छिरेर प्रहरीमाथि कुटपिट सुरु गरेको थियो । स्थानीयवासीकै पहलमा स्थापना भएको प्रहरी बिटमा असई विद्याधर चौधरीको नेतृत्वमा सातजना मात्र प्रहरी थिए । हवल्दार कृष्णहरि बजगाईंलाई भने स्थानीयवासीले पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए । अचानक सयौँको संख्यामा आएको स्थानीयवासीको भिडले आक्रमण गरेपछि आफुहरुलाई मुस्किल परेको हवल्दार बजगाईँले बताउनुभयो । आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हाम फालेर ज्यान जोगाएको बजगाईंले बताउनुभयो । स्थानीयले आक्रमणले उग्र रुप लिएपछि घटनास्थलमा पुगेका अन्य प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर समेत गर्नु परेको छ । अहिले भने प्रहरीले चौकी कब्जामा लिएको छ । प्रहरी चौकी आक्रमणमा संलग्न भएको आरोपमा १६ जना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।चौकीभित्र राखिएका पाँच वटा मोटरसाइकलमा पेट्रोल छर्किएर स्थानीयले आगो लगाएका छन् ।
