भक्तपुर
मंसिर २०
भक्तपुुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १५ सागबारीस्थित हनुमन्ते खोलाको जमिन भूमाफिया र नापीका कर्मचारीका मिलेमतोमा बेचेर खाएको तथ्य फेला परेको छ ।
साविक दिव्यश्वरी २ (ख) मा पर्ने हनुमन्ते खोलाले चर्चेको जग्गा २०३१ सालमै नयाँ नक्सा बनाइ खोलाको कित्ता नम्बर १०१२ (२८–३–२,फिल्ड बुकमा खोला) अठ्ठाईस् रोपनी तीन आना दुई पैसालाई कित्ताकाट गरी कित्ता नम्बर ११२० (१७–१४–०) र कित्ता नम्बर ११२१ (१०–५–२) बनाई एकपछि अर्को व्यक्तिलाई बिक्री गरिएको प्रमाणिक कागजात भेटिएको छ ।
खोलाको कित्ता नम्बर १०१२ लाई किन कित्ताकाट गरियो भन्ने जवाफ अहिले नापीका कर्मचारीहरुसँग जवाफ छैन । तर पुराना अभिलेखमा ३१ साल वैशाख ३ गतेको निर्णयबमोजिम यसो गरिएको भन्ने उल्लेख छ । ३१ साल वैशाख ३ गते कुन निकायले त्यस्तो निर्णय गरेको थियो र खोलालाई नम्बरीमा परिणत गरियो स्पष्ट छैन ।
३१ सालमा सरकारी जमिन खोलाबाट आएको कित्ता नम्बर १०१२ हुदै कित्ता नम्बर ११३३ ( ८–४–०–०) बिमली उपाध्यायको नाममा गएको देखिन्छ । जुन कित्ता जग्गा हामीले नक्सामा प्रष्ट देख्न सकिन्छ ।

दिव्यश्वरी २ख को साविक नक्सा….

हालको नक्सा….
उक्त जमिन २०३७–११–२५ गते बिमली उपाध्यायले कित्ताकाट गरी कित्ता नम्बर ११३६, ११३७, ११३८, ११३९, ११४०, ११४१, ११४२ बनाई उक्त जमिन नकलीमाया कुटु, कृष्णलक्ष्मी कुटु, तुइलाल कुटु, कान्छीमाया कुटु,पूर्णकृष्ण,पूर्णकुमार,गणेशमान आदिलाई बेचिएको देखिन्छ । खोलाको कित्ता नम्बर १०१२ ( २८–३–२ ) थियो । ती मध्ये धेरै जग्गा नम्बरी बनाएर व्यक्तिको नाममा गएको देखिन्छ ।
खोलाको जमिन कसरी व्यक्तिको नाममा गयो ? नापी कार्यालय भक्तपुरका पुराना कर्मचारी प्रमोद यादव भन्छन, ‘खोलाले धार परिवर्तन गरेर व्यक्तिको जमिनमा पस्यो भने, नदी उकासको जमिन ती पीडितलाई दिने निर्णय ४८ सालतिर मन्त्रिपरिषदबाट भएको थियो । त्यो अनुसार हुन सक्छ ।’यादवले अनुमान गरेभन्दा धेरै अघि नै ३१ साल वैशाख ३ गतेको निर्णयअनुसार भनेर नदि क्षेत्रको जमिन व्यक्तिको नाममा नामसारी भएको देखिन्छ । उक्त क्षेत्रमा हालसाविक लागु हुनुपूर्व सबै व्यक्ति आ–आफ्नो जग्गा बिना विवाद भोगचलन गर्दै आएको तर हालसाविक लागु भएको बेला भूमाफिया र नापी कर्मचारीहरुले खोलाको जग्गामा चलखेल गरी व्यक्तिको जग्गा अपुग भएको प्रमाणित भएको छ । साथै उक्त क्षेत्रको २०२१ सालको नक्सा, (पुरानो कपडाको सक्कल नक्सा) पनि गायब गरिएको छ । २०२१ सालको नापीमा जून जून जग्गा नापी भएको हुन्छ,उक्त जग्गाको फिल्डबुक बनाइन्छ तर फिल्डबुक नभएको कित्तासमेत नक्सामा राखी जग्गा नम्बरी बनाई भूमाफिया र नापी कर्मचारीले ठूलो पैसाको चलखेल गरेको देखिन्छ ।
कौशलटार हेभन हाउजिङको जग्गा पनि खोलाबाटै आएको देखिन्छ ।
कोटेश्वरबाट कौशलटार पुगेपछि दायाँ दिशामा बालकोट जाने बाटो आउँछ । थोरै अघि बढेपछि हनुमन्ते खोला आउँछ । कौशलटार र बालकोटलाई जोड्ने पूलको छेवैबाट बायाँपट्टि कच्ची घाँसे बाटो देखिन्छ । हालसालै बनाइएको योे बाटो खासमा खोला क्षेत्र हो । खोला मिचेर बनाइएको यो घाँसे बाटो हुँदै २०० मिटर अघि पुगेपछि यस्तो ठाऊँमा टुंगिन्छ जहाँ चारैतिर जस्तापाताले घेरिएको जग्गा छ ।
जस्ताले घेरेको जग्गामा सिई कन्स्ट्रक्सन नामक कम्पनीले हाउजिङ निर्माण गर्ने तयारी गरेको छ ।
सिई कन्सष्ट्रक्सनले भक्तपुर–राजमार्ग नजिकै रहेको र खोला किनारमा बनाउन लागेको सो हाउजिङको नाम ‘कौशलटर हेभन हाउजिङ’ राखेको छ ।
हाउजिङ क्षेत्र नजिकै रहेको मसानघाट (मूर्दा पोल्ने ठाऊँ) केही बर्षअघि भूमाफियाले रातारात डोजर लगाएर फालिएको थियो । स्थानीयले विरोध गरेपछि पहिले भएकै ठाउँमा मूर्दा पोल्ने नयाँ ठाऊ बनाइएको छ ।
एक अगुवा रैथानेका अनुसार हाउजिङले खोला क्षेत्र मिचेर जग खनेपछि स्थानीय विरोधमा उत्रिए । उनीहरुले खोला क्षेत्र छाडेरमात्र निर्माण गर्न पाउंने अडान लिएपछि हाल हाउजिङ निर्माणको काम रोकिएको छ । कन्स्ट्रक्सनका अधिकारीहरु पावरवाला नेताको घर र कार्यालय धाउँन व्यस्त रहेको बुझिएको छ ।
सिई कन्स्ट्रक्सनका मार्के्टिङ प्रमुख सुजन घिमिरेले खोला मिचिएको स्विकार गरेका छन् । उनले भने, ‘हामीले त्यहाँ जस्ताले घेरेरमात्र राखेका छौं निर्माण कार्य केही भएको छैन ।’ हनुमन्ते खोलाले चर्चेको जमिनमै कित्ताकाट गर्ने, बेच्ने आदिकाम पहिलेदेखि नै हुँदै आएको थियो । यसको जल्दोबल्दो उदाहरण कौशलटार हेभन हाउजिङको जमिनलाई लिँदा पनि हुन्छ । यो हाउजिङका कर्मचारीहरु नै बेच्नेले झुक्याएर बेचेको आशयको जवाफ दिइरहेका छन् । जमिनमै चलखेल गर्ने गिरोह यो क्षेत्रमा सक्रिय छ । यस्ता गिरोहकै कारण कतिपय रैथाने किसानहरुको जमिन पनि हेरफर भएको छ ।
त्यस्तै नापी कार्यालय भक्तपुरमा ६५ सालदेखि कार्यरत सर्भेक्षक धर्म व्यञ्जनकार र उमाकान्त यादव गम्भीर विवादमा तानिएका छन् । उनीहरुले नदीउकास जमिन पास गरिदिन्छौं भनेर स्थानीयसँग पैसासमेत असूल गर्ने गरेको खबर बाहिरिएको थियो । स्थानीयका अनुसार व्यञ्जनकार र यादवले मध्यपुर ठिमी नपा क्षेत्रको हाल साविक लागु भै सक्दा पनि साविक बालकोट र साविक दिव्यश्वरीका हनुमन्ते खोला छेउका जग्गा साविक भन्दा बढी सरकारी जग्गा घुसाई जग्गा दर्ता गरिरहेको पाइएको छ ।
उनीहरुले सरकारी जमिनलाई व्यक्तिको बनाउने, एउटाको जग्गा नक्सामा धेरै देखाउन अर्काको जमिन कम देखाइदिने, बढी जग्गा हातमा पारिदिएबापत त्यस्ता जग्गाधनीबाट पैसा असुल्न भक्तपुर नापी कार्यालयका कर्मचारी गणेश बुढाथोकीलाई प्रयोग गर्ने गरेको जानकारहरु बताउछन् ।
यस्ता धेरै विवादास्पद विषयहरु यस क्षेत्रको जग्गामा जोडिएका छन् । यस क्षेत्रको स्वतन्त्र अनुसन्धान हुन आवश्यक पनि देखिन्छ ।
