काठमाण्डौ
मंसिर १८
अनशनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधनका लागि आज पनि वार्ता हुँदैछ । शिक्षा मन्त्रालयमा अहिले केहीबेरपछि पुनः हुने भनिएको वार्तामा वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने डाक्टर केसीको मुख्य माग सम्बोधन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठका अनुसार प्रक्रिया पु¥याएर डिनको नियुक्ति गर्ने विषयमा आज त्रिविका पदाधिकारीसँग छलफल गरी सहमति खोजिनेछ । यसअघि गएराति अबेरसम्म शिक्षा मन्त्रालयमा सरकारी वार्ता टोली, त्रिवि पदाधिकारी र डाक्टर केसीका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि आज बिहान ९ बजेपछि फेरि बस्नेगरी वार्ता स्थगित भएको थियो । डाक्टर केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राध्यापक डाक्टर केपी सिंह र त्रिवि उपकुलपति डाक्टर तिर्थ खनियाँको राजीनामा माग गर्दै बरिष्ठताका आधारमा डिन नियुक्तिको माग गर्दै आउनुभएको छ । आइओएमका डिन सिंहले हिजो नै राजीनामा दिएपनि डा. केसीले त्रिविका उपकुलपतिको राजीनामालाई मुख्य शर्तका रुपमा उठाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार दुई वार्ता टोलीबिच १० बुँदे सहमतिपत्र तयार भएपनि हस्ताक्षर हुन बाँकी छ । सहमतिअनुसार केही दिनअघि नियुक्त आइओएमका डिन सिंहले राजीनामा दिइसकेकाले आज नै डिन नियुक्त गर्नेलगायत विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।
