काठमाण्डौ
मंसिर १५
सुत्केरीको मृत्यु भएको विषयलाई लिएर आज विहानैदेखि विराटनगर स्थित कोसी अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । कोसी अस्पतालमा सोमबार शल्यक्रिया गरेर बच्चा निकालिएकी विराटनगर १० हाटखोलाकी २१ वर्षीय कमला लुइँटेल अधिकारीको आज विहान धरानमा मृत्यु भएको थियो ।
कमलाका आफन्त अस्पताल विरुद्ध नाराजुलुस गर्दै विरोधमा उत्रदा स्थिति तनावपूर्ण बनेको हो । महिला तथा प्रसूति रोग विशेषज्ञ डा. मेलुना भुषाल नेत्रृत्वको चिकित्सक टोलीले कमलाको शल्यक्रिया गरेर बच्चा निकालेको थियो । शल्यक्रिया गरेर बच्चा निकालिए पनि बढी रक्तश्राव भएका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सुत्केरी युवतीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा आज विहान कमलाको धरानमै मृत्यु भएको हो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै कमलाका आफन्त विहानैदेखि विरोधमा उत्रिएका छन् । आफन्तले शल्यक्रियाका क्रममा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनु पर्ने, मृतकबाट जन्मिएको छोरालाई शिक्षा दीक्षा र भरणपोषणको व्यवस्था अस्पतालले गर्नु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र किरिया खर्च दिनु पर्ने, आगामी दिनमा यस्ता घटना दोर्होयाउन नहुने, सर्वसाधारणको उपचारमा लापरवाही गर्न नहुने लगायतका माग राखेका छन् ।
