काठमाण्डौ
मंसिर ११
शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १४ दिनदेखि अनशनरत प्रा. डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता समिति गठन गरेको छ । केसीसँग वार्ता गरी समस्या समाधानका लागि भन्दै सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्व दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा स्वास्थ्य सचिव डा. सिनेन्द्रराज उप्रेती सदस्य छन् । त्रिवि उपकुलपतिको कार्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेपछि डा. केसी चिकित्सा शिक्षा सुधारसहित डीन नियुक्ति फिर्ता लिन माग गर्दै आमरण अनशनमा बस्नु भएको छ । बरिष्ठताका आधारमा आईओएम को डीन नियुक्ति गर्नुपर्ने डा केसीको माग छ । तर, त्रिवि उपकुलपति तीर्थ खनियाँले भने बरिष्ठताका आधारमै डीन नियुक्ति गरिएको दाबी गर्दै आउनुभएको छ ।
यसैबीच स्वास्थ्य शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै चिकित्सा शिक्षा क्षेत्रका आठ संगठनले आज पनि प्रदर्शन गरेका छन् । केसीको अनशनलाई वेवास्ता गरेको भन्दै ती संगठनहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि तथा माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । रेसिडेन्ट डाक्टरहरुले पनि हिजोबाट त्रिवि शिक्षण अस्पतालको बहिरंग विभाग पनि वहिष्कार गरेका छन् । डा. केसीको स्वास्थ्य जटिल बन्दासमेत सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै डाक्टर केसी समर्थकहरुले देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
