काठमाण्डौ
मंसिर १०
महिला हिंसाविरुद्धको सोह्रदिने अभियान आजबाट सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको उपस्थितिमा थुप्रै कार्यक्रम गरिने छ ।

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ यस वर्षको अभियान मनाउन लागिएको हो । १६ दिन भरी घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष भवानी घिमिरेले जानकारी दिनुभयो ।
यसमा हाजिरी जवाफ, किशोर किशोरीलाई अभिमुखीकरण तालिम, महिलाका विषयमा भएका कानुनका विषयमा जानकारी, महिला हिंसाविरुद्धका नाटक प्रस्तुत गरिने छन् ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ (महिला विरुद्धको अन्तराष्ट्रिय दिवस) बाट सुरु गरी डिसेम्बर १० (अन्तराष्ट्रिय मानवअधिकार दिवस) सम्म अभियान सञ्चालन गरिन्छ ।
