काठमाण्डौ
मंसिर ५
व्यवस्थापिका–संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यो सँगै सांसदहरुले अब प्रतिमहिना एक लाख रुपैयाभन्दा बढी तलवभत्ता प्राप्त गर्नेछन् । सांसदहरुले बढेको सुविधा साउनदेखिकै पाउनेछन् ।
सांसदहरुले अब एक दिनको बैठक भत्तावापत प्रतिसांसद १ हजार रुपैया पाउनेछन् । यसअघि दुईसय रुपैया थियो । यसैगरी सांसदहरुले घरभाडा बापत हरेक महिना लिदै आएको ६ हजार ५ सय रुपैयाबाट बढाएर १८ हजार रुपैया पु¥याइएको छ । नयाँ व्यवस्थाअनुसार सांसदले ५५ हजार २३० पारिश्रमिक पाउनेछन् भने सञ्चार सुविधा,विशेष भत्ता लगायत गरी प्रतिसांसद तलवभत्ता मासिक एकलाख रुपैयाभन्दा बढी पु¥याइएको हो । विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताउनुभयो ।
