काठमाण्डौ
कात्तिक २०
मुस्ताङमा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्ला क्षेत्रका ६ गाविसका सर्वसाधारण बेँसी झर्न थालेका छन् ।
हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरु बेँसी झर्न थालेका हुन् । उनीहरुले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्दछन् ।
ति गाविसमा करिब चार महिना वस्तुभाउको हेरचाह गर्न एक दुईजना वृद्धवृद्धा मात्रै रहन्छन् । स्कुले विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरिसेकका छन् । छ गाविसमा १२ भन्दा बढी विद्यालयले पोखराको लेखनाथ, बाग्लुङ बसपार्क र चिसापानीमा घुम्ती विद्यालयको शिविर सञ्चालन गरिसकेका छन् ।
चिसो बढेकाले फापर, जौँ, गहुँ र कोदो जस्ता अन्नबाली थन्काएर सर्वसाधारण धमाधम बेँसी झर्न थालेको छोसेरका स्थानीय लाम्पा छिरिङ गुरुङले जानकारी दिनुभयो ।
