काठमाण्डौ
कात्तिक ६
राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा आज विशेष पूजापाठ गर्नुभएको छ ।
उहाँले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना तथा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद ग्रहण गर्नुभयो । मन्दिरको पूजापछि राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास समेत गर्नुभयो । आगामी चैत १६ गतेदेखि सो महायज्ञ सुरु हुने रुद्रमहायज्ञ समितिले जनाएको छ । पूजापछि छिन्नमस्ता मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, साँस्कृतिक र जातीय विविधताले भरिपूर्ण नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हुँदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो ।
